सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ। आज दिउँसो १२ बजेदेखि अहिले साँझ पाँच बजेसम्म ६ घण्टा लामो बयान लिएको हो।
सिआइबीका प्रमुख एआइजी दिपक थापाले उपसभापति गुरुङसँग बयान लिएको पुष्टि गरे। बयानका क्रममा उपसभापति गुरुङले सहकारीको पैसा हिनामिना नभएको बताएका थिए।
उनले अनुसन्धानमा सहयोग गर्ने पनि बताए। ‘सिआइबीले उहाँसँग सोधपुछ गरेको छ, कागज गरेको छ’ सिआइबी प्रमुख एआइजी थापाले भने।
सीआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराए छ। सीआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको थियो।
गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन। ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो।
ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए। धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पत्ति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको गुरुङले बयान दिएका छन्।
प्रकाशित: २८ कार्तिक २०८१ १८:०० बुधबार