राजनीति

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम छ। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा अजरबैजानको बाकु पुगेका राष्ट्रपति पौडेल र गुटेरसबीच भेट हुन लागेको हो।

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै छन्। उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ।

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही सहभागी हुनेछन्।

प्रकाशित: २८ कार्तिक २०८१ १०:२७ बुधबार