राजनीति

व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्था नै असफल भयो भन्न मिल्दैन: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्ति विशेषका कमजोरीलाई लिएर सिङ्गो व्यवस्था नै असफल भयो भन्ने तर्क प्रस्तुत गर्न नहुने बताएका छन्।

दैलेखमा मंगलबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले राजनीतिक दलभित्र व्यक्तिका एकाध कमजोरीलाई लिएर व्यवस्था नै असफल भयो भन्ने तर्क जायज नभएको बताए।

'हाम्रा कमजोरीहरू होलान् ती कमजोरीहरू सच्चाउँदै जानुपर्दछ। खराब काम गर्नेहरूलाई जनताले स्वतः बहिष्कार गर्छन्,' मुख्यमन्त्री कँडेलले भने, 'तर व्यक्तिका कमजोरीलाई व्यवस्थाप्रति नै औलो ठ्याउने काम उचित होइन।'

लामो समयको सङ्घर्षपछि जनता नै सार्वभौम हुने गणतान्त्रिक व्यवस्था प्राप्त भएको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले व्यक्तिका कमजोरीलाई लिएर जनतामा निराशा फैल्याउनेतर्फ सजग हुन आवश्यक रहेको बताए।  उनले भने, 'हामीले अभ्यास गरेका कतिपय कामप्रति नागरिकमा सकारात्मक भावना छैन। त्यसलाई सुधार्दे जानु हाम्रो कर्तव्य हो तर व्यक्तिले गरेका बदमासीलाई व्यवस्थासँग जोडेर जनतालाई निराशा बाँड्नेतर्फ हामी होसियार हुनुपर्छ।'

विकास र भूगोल तथा सामर्थ्य र साधनको हिसाबले कर्णाली प्रदेश कमजोर रहेको धारणा राख्दै मुख्यमन्त्री कँडेलले यहाँको विकासका लागि सबैलाई साथ लएर हिँड्ने प्रयास गरिरहेको बताए।

धार्मिक पर्यटन र कृषिको व्यवसायीकरणबाट दैलेखकलाई समृद्धि बनाउन सकिन्छ भन्ने आफूले पाएको उल्लेख गर्दे मुख्यमन्त्री कँडेलले पेट्रोलियम पर्दाथको अनुसन्धानले राम्रो परिणाम निस्कन सके त्यसले दैलेखलाई समृद्ध बनाउने दाबी गरे। आफूले सुधार गर्न खोज्दा एक्लै परे पनि निष्कर्षमा पुगेरै छाड्ने उनको प्रतिबद्धता थियो।

प्रकाशित: २७ कार्तिक २०८१ १२:०४ मंगलबार