राजनीति

उपेन्द्र यादवको प्रश्न: ३७ वर्षमा देशले किन प्रगति गर्न सकेन ?

फाइल।

पूर्व उपप्रधानमन्त्री तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएको ३७ वर्ष बितिसक्दा पनि देशले प्रगति नगरेकोमा प्रश्न उठाएका छन्।

रौतहटको गढीमाई नगरपालिका–८ मा वडाध्यक्षको चुनावी प्रचार कार्यक्रममा बोल्दै उनले देश किन पछाडि परेको भन्दै असन्तुष्टि व्यक्त गरे।

यादवले ३७ वर्षमा ३७ ओटा सरकार फेरिए पनि देशले अपेक्षित परिवर्तन गर्न नसकेको र नेपाल दक्षिण पूर्वी एसियामा सबैभन्दा दरिद्र देश बन्न पुगेको सुनाए।

उनले ३७ वर्ष अघि नेपालभन्दा पछाडि रहेको भुटान अहिले कैयौँ गुना अघि बढिसकेको उल्लेख गर्दै बङ्गलादेश र सिंगापुरजस्ता देशहरूले अत्यन्तै प्रगति गरिरहेको उदाहरण दिए।

यादवले मधेसमा ५४ प्रतिशत जनसंख्या रहे पनि बजेटको मात्र १२ प्रतिशत उपलब्ध गराइएकाले असन्तुलित लगानीले विकासको गति रोकिएको आरोप लगाए। यसले मधेसको विकासमा ठूलो प्रभाव पारेको उनको भनाइ थियो।

गत स्थानीय निर्वाचनमा जसपाबाट निर्वाचित वडाध्यक्ष रामाज्ञा राय यादवको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जसपाले सन्देश यादवलाई उम्मेदवार बनाएको छ।

चुनावी कार्यक्रममा अध्यक्ष यादवले मतदातालाई सन्देश यादवलाई विजयी गराउन आग्रह गरे। यस अवसरमा जसपाका वरिष्ठ नेताहरू, पूर्वमन्त्री, संघ र प्रदेशका सांसदहरूको उपस्थिति रहेको थियो।

दिवङ्गत वडाध्यक्ष यादवकी पत्नी भने नेकपा एमालेबाट उम्मेदवार बनेकी छन्। जसले गर्दा यो चुनावमा एमाले र जसपाबीचको प्रतिस्पर्धा हुने देखिएको छ। यसबाहेक, रौतहटको अन्य तीन पालिकामा पनि वडाध्यक्षको उपनिर्वाचन भइरहेको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १८:४९ सोमबार