राजनीति

प्रदेशसभा सचिवालयले पूर्व मन्त्री अधिकारी पक्राउबारे दियो जानकारी

कोसी प्रदेशसभा सचिवालयले लिखत किर्ते र मानव बेचबिखन सम्बन्धी आरोपमा पूर्व मन्त्री एवं सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेको जानकारी दिएको छ। कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले सोमबार सूचना टाँस गर्दै कोसीका प्रदेशसभा सदस्य अधिकारी पक्राउ परेको जानकारी दिएका हुन्।

प्रदेशसभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम सभामुखको आदेशअनुसार सूचना प्रकाशन गरिएको सूचनामा उल्लेख छ।लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०८१/०७/२५ गते पक्राउ अनुमति जारी भएका कोसी प्रदेशसभाका माननीय सदस्य लिलाबल्लभ अधिकारीसमेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइएको जानकारी प्राप्त भएको सूचनामा जनाइएको छ।

नेकपा (एमाले)का नेता अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। एमालेले पनि उनलाई तत्कालका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाइसकेको छ।एमाले प्रदेश संसदीय दलले अधिकारी पक्राउ परेको जानकारी प्रदेशसभा सचिवालयलाई दिएको छ।जापान भ्रमण प्रकरणको अनुसन्धानका लागि अधिकारीलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौं लगेको थियो । प्रहरीले अदालतबाट २ दिनको म्याद लिएर उनी विरुद्ध लिखत तथा मानव बेचबिखन सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। 

प्रदेशसभा नियमावली २०७४ को नियम १९० मा प्रदेशसभाको सदस्य पक्राउ सम्बन्धी व्यवस्था छ। नियम १९० को उपनियम (२) मा बैठक नचलेको अवस्थामा प्रदेशसभाका कुनै सदस्य पक्राउ परेको भनेर प्राप्त भएको सूचना सचिवालयको सूचना पाटीमा टाँस गरी प्रचारप्रसार गर्नुपर्ने व्यवस्था रहेको छ। 

प्रकाशित: २६ कार्तिक २०८१ १७:३५ सोमबार

#Kosi State Assembly #Lilabalav Adhikari