राजनीति

रास्वपाको अन्योल अब कस्तो आन्दोलन?

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो। स्थानीय तह निर्वाचनको तयारीको मूल अजेन्डामा बसेको बैठक भनिए पनि रविको पक्राउ, आन्दोलन र त्यसपछि सिर्जित घटनाक्रमकै विषयमा केन्द्रित रहेर छलफल भएको एक केन्द्रीय नेता बताउँछन्।

आन्दोलनबाट सरकार नगलेको, सरकार नगल्दा प्रहरीले अनुसन्धान कमजोर हुन नसकेको, रविको हिरासत यात्रा लम्बिरहेको जस्ता विषयमा बैठकमा छलफल भए। आन्दोलनमा सोचेजस्तो जनसहभागिता तथा जनसमर्थन नजुटेको विषय रास्वपाको समीक्षा रह्यो। तर रास्वपा आन्दोलनबाट पूर्ण रूपमा पछि फर्किन सक्ने स्थितिमा नभएकाले आफ्नो आन्दोलनलाई दोस्रो चरणमा लैजाने निर्णय बैठकले गर्‍यो।

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिको विरोधका साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा आह्वान गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा सभापति लामिछाने पक्राउको विषयलाई फेरि पनि ‘राजनीतिक प्रतिशोध’ भनेर उल्लेख गर्दै त्यो पक्राउको भत्र्सना नै गरेको छ। त्यही विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।’

रास्वपाले बाहिर खुला रूपमा यसो भनिरहँदा कानुनी अनुसन्धानको दायरामा प्रवेश गरेको विषयमा सडकमा आन्दोलन गरेको भन्दै उक्त पार्टीको चर्को आलोचना भइरहेको छ। यही कारण आन्दोलनमा उक्त पार्टीले अपेक्षा गरेअनुरूपको उपस्थिति गराउन सकेको छैन।

जनस्तरमा पनि साख गिरिरहेको स्वयं रास्वपाका नेताहरूले अनुभूति गरिरहेका छन् तर खुलेर बोल्न सक्ने अवस्थामा भने उनीहरू छैनन्।

यही कारण यसैबीचमा सत्ता पक्षसँग गोप्य संवाद गरेर ‘फेस सेभ’को रणनीति पनि रास्वपा नेताहरूले गरेका थिए। कम्तीमा रविलाई हिरासतबाहिर राखेर अनुसन्धान भइदिए फेस सेभ हुन्छ भन्ने निष्कर्षमा रास्वपा नेताहरू छन्। यही कारण उनीहरू सार्वजनिक भाषा पनि त्यही बोलिरहेका छन्।

रविको अनुपस्थितिमा अघोषित रूपमा रास्वपाको कमान्ड सम्हालिरहेका उपसभापति डोरप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरे। साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेटको प्रयास गरे। यी भेटमा अर्यालले अपेक्षित प्रियता पाएनन्। त्यसो त त्यसअघि पनि अर्याल चर्को आन्दोलनको पक्षमा थिएनन्। सरकारसँग सुरक्षित सम्बन्ध कायम गरेर जानुपर्ने पक्षमा थिए। अर्का उपसभापति डा. स्वर्णिम वाग्ले पक्ष भने सरकारविरुद्ध कठोर रूपमा प्रस्तुत भएर आन्दोलन गर्ने पक्षमा रहेको रास्वपा स्रोत  बताउने गर्छ।

सुरुमा रास्वपा वाग्लेकै लाइनमा सडकमा खनियो। कात्तिक २ गते प्रहरीले रास्वपा केन्द्रीय कार्यालय घण्टीघरबाट रविलाई पक्राउ गर्दा रविले त्यसलाई ‘राजनीतिक प्रतिशोध’का रूपमा परिभाषित गरेका थिए। त्यही परिभाषासहित दोस्रो दिनदेखि रास्वपा पोखराका सडकमा उत्रिएको थियो।

सडकमा सबैजसो नेता–कार्यकर्ता आक्रामक सुनिएका थिए। उपसभापति वाग्ले, सांसदहरू सुमना श्रेष्ठ, सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झा त निकै आक्रामक नै सुनिएका थिए। झाले त रवि मर्न तयार भए आफू पनि मर्न तयार रहेको अभिव्यक्तिसमेत दिन भ्याएका थिए। पोखरामा अपेक्षित समर्थन नपाएपछि रास्वपा काठमाडौं फर्किएर आन्दोलनमा होमिएको थियो। काठमाडौंमा पनि अपेक्षित साथ मिलेन। त्यसपछि भने उपसभापति अर्यालले सत्तापक्षसँग संवादको प्रयास गरेका थिए।

यसरी आफ्नै आन्दोलन आफैंलाई बोझ बनेपछि रास्वपाका नेताहरू अहिले अन्योलमा छन् तर रविको हिरासत यात्रा नटुंगिएसम्म उनीहरूलाई आन्दोलनबाट भाग्न सहज छैन। ‘अब के भनेर आन्दोलनबाट ब्याक हुने ? केही दिन त चाडबाडले तनाव दूर गर्‍यो,’ रास्वपाका एक नेता भन्छन्, ‘चाडबाड सकिएपछि नाक जोगाउन पनि आन्दोलन गर्नुको विकल्प रहेन। सुरुमै अनुसन्धानलाई सघाउने भनेको भए यति समस्या आउने थिएन।’

अब कस्तो आन्दोलन?

रास्वपाको केन्द्रीय समिति बैठकले आधिकारिक रूपमा ‘संयुक्त सशक्त आन्दोलन’ गर्ने निर्णय गरेको छ। तर त्यो भनेको कस्तो हो भन्ने अपरिभाषित छ। कार्यवहाक प्रवक्ता झा भने ‘संयुक्त’ र ‘सशक्त’ अलग अलग परिभाषा गर्छन्। ‘हामीले अब गर्ने आन्दोलन भ्रष्टाचारविरुद्ध हो। भ्रष्टाचार र सुशासन चाहने सबै पार्टी, समूह, संस्थासँग मिलेर गर्ने आन्दोलन भएकाले संयुक्त भनेका हौं,’ उनले भने, ‘सशक्त भन्नाले अराजक, रक्तपातपूर्ण, भौतिक संरचनामा क्षति पुर्‍याउने खालको भनेको होइन। राज्यलाई दबाब पुग्नेगरी नवीन शैलीको आन्दोलन भनेका हौं।’

कार्यवहाक प्रवक्ता झाले यसो भने पनि रास्वपाका जिम्मेवार नेताहरूबाट भने अनेक किसिमका अभिव्यक्ति आइरहेका छन्। केही दिनअघि पोखराको कोणसभामा बोल्दै रास्वपा सांसद सोविता गौतमले कार्यकर्तालाई उत्तेजित गराउने खालको अभिव्यक्ति दिएकी थिइन्। उनले अति भएको बताउँदै घरघर, जिल्लाजिल्लाबाट आफूसँग जे ‘शक्ति’ छ, त्यही बोकेर आउन आह्वान गरेकी थिइन्।

‘जिल्लाजिल्लाबाट उठेर आउनुस्। जे छ तपाईंहरूसँग, जे शक्ति छ लिएर आउनुस् र जे सक्नुहुन्छ त्यो गर्नुस्,’ सांसद गौतमले भनेकी थिइन्, ‘यो आन्दोलनमा घटेको घटनाको एउटा पनि जिम्मा रास्वपाले लिँदैन। किनभने तिमीहरूले जनताको परीक्षा लियौ र तिमीहरूले देख्नैपर्छ, यो नियति कस्तो हुन्छ।’

एउटा व्यक्तिलाई थुनेर नयाँ युगलाई थुन्न प्रयत्न गरिएको उनको दाबी थियो। ‘यो आन्दोलन शान्तिपूर्ण आन्दोलन थियो तर तिनीहरूले हामीलाई यो तहसम्म जिस्काएका छन्, तिनीहरूले देख्नैपर्छ नेपाली जनताले चाहेको के हो भनेर,’ गौतमले भनेकी थिइन्। गौतमले गरेको यो भाषण रास्वपाको आधिकारिक फेसबुक पेजले लाइभ गरेको छ। दोस्रो दिन त्यही भाषणको रेकर्ड पुनः सेयरसमेत गरिएको छ।

यस्तो उत्तेजक अभिव्यक्ति दिने गौतम रास्वपाकी एक्ली नेत्री भने होइनन्। यसअघि रास्वपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभापति डा. अच्युतम घिमिरेले अन्य दलका शीर्ष नेतालाई लक्षित गरेर ‘बाहरूलाई चिमोटीचिमोटी मार्ने’ भन्दै हिंसात्मक अभिव्यक्ति दिएका थिए। यस्ता अभिव्यक्ति आक्रोशका कारण आएको कार्यवाहक प्रवक्ता झा बताउँछन्।

‘पार्टीले त जे आधिकारिक छलफल र निर्णय गर्छ त्यस्तै आन्दोलन गर्ने हो। कसैले आक्रोशको बेला बोल्यो भन्दैमा त्यस्तै गर्ने भन्ने हुन्न। मै पनि पोखरामा सुरुको दिन आक्रोशित भएर केही बोलेको थिएँ,’ झाले भने। अहिलेको युगमा त्यस्तो अराजक किसिमको आन्दोलन आफूहरूले नगर्ने झा बताउँछन्।

उनी भन्छन्, ‘हत्या, हिंसा, तोडफोड, आगजनीले कस्तो विकराल क्षति पुर्‍याउँछ, देशलाई कस्तो हानि हुन्छ भन्ने देखेर हुर्केको पुस्ता हौं हामी। त्यस्तो आन्दोलन हामी सोच्न पनि सक्दैनौं।’

प्रकाशित: २६ कार्तिक २०८१ ०७:०४ सोमबार

# Rabi Lamichhane #National Independence Party (NRAP) # Sahakari Thagi