राजनीति

माफी माग्दै रास्वपा नेताले भने: नयाँ पार्टी र नेताको छवि बनाउन चुक्यौं

.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टी र नयाँ नेताले बनाउनुपर्ने छवि र देखाउनुपर्ने प्रवृत्तिमा चुकेको भन्दै माफी मागेका छन्।

एमालेले मानव तस्करीको आरोप लागेका कोसी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेकामा सह्राहना गर्दै आफूहरू भने नयाँ चरित्र देखाउनमा चुकिरहेको भन्दै रास्वपा नेता कार्कीले माफी मागेका हुन्। शनिबार साँझ फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै कार्कीले यस्तो माफी मागेका हुन्।

‘जनही १० देखि १४ लाखसम्म लिएर तीन जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्‍याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ। उनीमाथि छानविनका लागि अनुरोध गरेको छ,’ कार्कीले लेखेका छन्,‘यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ।’ अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न त्यो आफू हेरिरहेको उनले लेखेका छन्।

‘र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रकारूपमा हामी चुकेका छौँ। मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु,’ कार्कीले अगाडि लेखेका छन्।

प्रकाशित: २४ कार्तिक २०८१ २०:१३ शनिबार