बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले सहकारी ठगहरूले सहकारीमा जम्मा भएको रकम भारत पुर्याएको दाबी गरेका छन्।
गरिब, मजदुरहरूले रगत पसिना गरेर जम्मा गरेको थोरै थोरै पैसालाई संकलन गरी भारतमा जम्मा गर्न लगेको देखिएको जनाउँदै उनले आपत्ति जनाए।
सुकुण्डा बचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती ७ भक्तपुरको शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले ओरेण्टल सहकारी संस्थाले बचतकर्ताहरूबाट जम्मा भएको रकम भारतमा जम्मा गर्न लगेको भेटिएको दाबी गरेका हुन्।
केही सहकारी सञ्चालकहरूले सहकारी संस्था भनेको व्यवसाय हो भनेर खुल्लम खुल्ला भन्दै आएको बताउँदै उनले सहकारी व्यवसाय नभई सेवा भएको उल्लेख गरे।
"सहकारी कोअपरेटिभ, बैंक जस्तो नभई सर्वसाधारण गरिब जनताको सहयोगी समूह हुनुपर्छ", उनले भने "सहकारीले स-साना रुपमा सञ्चालन गर्न खोज्ने र सञ्चालनमा रहेका घरेलु उद्योगहरूलाई सहयोग गर्नुपर्छ। तर नेपालमा सहकारी संस्थाहरूले सेवा समूह भन्दा पनि सीमित मानिसका लागि पैसा बटुल्ने केन्द्र बन्दै आएका छन्।"
उनले सहकारीहरू बैंक जस्तो पुँजीपति वर्गको सेवाका लागि हुन नहुनेमा जोड दिए।
प्रकाशित: २४ कार्तिक २०८१ १६:५६ शनिबार