राजनीति

घन्टीघरमा रवि समर्थकको धर्ना, असहयोगीलाई 'नो नट अगेन'को धम्की

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछाने छुटाउन रास्वपाले ठोस निर्णय लिन नसकेको भन्दै उनका समर्थकले केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक चलिरहँदा रविका समर्थकले पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।बैठक बस्नुअगाडि नै उनीहरूले धर्नामा पुगेका थिए । 

रवि पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै धर्नारत रवि समर्थकको गुनासो छ । उनीहरूले हात हातमा प्लेकार्ड बोकेर आएका छन् ।

प्लेकार्डमा संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, पार्टी एकता देशको आवश्यकता हो, रविका नामबाट नेता र सांसद बन्नेहरू रविलाई सङ्कट पर्दा पछि हट्नु धोका हो, रविले नाम दिए रविलाई पर्दा साथ नदिने, आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, समयले परिवर्तन खोजेको छ, आन्दोलनको विकल्प छैन, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्, निर्णायक आन्दोलनको विकल्प छैन, रविको न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेलमा नकोचेसम्म आन्दोलन जारी रहन्छ, देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ नारा उल्लेख छन् ।

प्रकाशित: २४ कार्तिक २०८१ १३:१९ शनिबार

#RSP-Rastriya Swatantra Party #Rabi Lamechhane