राजनीति

प्रधानमन्त्रीको व्यवहार ‘ध्रुवे हात्तीजस्तो’, हालत ‘भिजेको बिरालो’: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको भन्दै तत्काल सच्याउन चेतावनी दिएका छन्। साहले प्रधानमन्त्री ओलीको हालत भने ‘भिजेको बिरालो’ जस्तै देखिएको टिप्पणी गरे।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज (शुक्रबार) सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा सांसद साहले प्रधानमन्त्री ओलीको व्यवहार अराजकता र पाइला अधिनायकवादतर्फ लम्किएको टिप्पणी गरेका छन्। जनताले शान्तिपूर्ण आन्दोलन विरोध गर्दा प्रहरी प्रशासन लगाएर दमन गर्ने र युवाहरुले नाम लिएर नाराबाजी गर्दा प्रहरी लगाएर आतंकित पार्ने कार्य नै अलोकतान्त्रिक भएको साहको भनाई छ।

उनले दशरथ रंगशालामा हालै सम्पन्न महिला साफ च्याम्पियनको फाइनल खेलमा युवाहरुले केपी ओलीको नाम लिएर नाराबाजी गर्नेहरूलाई प्रहरीले निगरानी गरेको विषयमा यस्तो टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा बोलेको विषयलाई लिएर जापानमा अध्ययनरत एक जना नेपाली युवालाई इन्टरपोल लगाएर नेपाल भित्र्याउनेसम्मको तयारी भइरहेको समाचार देख्दा आफूलाई आश्चर्य लागेको साहको भनाई छ। उनले भने,‘यो सरकार निर्दयी भयो । यस्तो व्यवहारले सरकारको नेतृत्वमा हुनेको ओझ बढाउँदैन, बरु सर्वसत्ता लाद्ने नेताको छवि बन्छ।’

प्रधानमन्त्री ओलीले जनस्तरबाट भएको आलोचनासमेत पचाउन नसकेको साहको आरोप छ। उनले भने, ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएको केपी ओलीले नागरिक स्तरबाट सरकारको आलोचना हुँदा सहन नसक्नु गम्भीर गल्ती हो। जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु अराजकता हो। उहाँको व्यवहार त एक ताका चितवनको सडकमा वितण्डा मच्चाउँदै हिँड्ने ध्रुवे हात्तीजस्तो भयो। यो व्यवहार उहाँले सच्याउनुपर्छ। नत्र जनताले उहाँलाई ठेगान लगाउनेछन्।’

साहले कांग्रेसको वैशाखीमा सत्ता–यात्राको रोमान्समा भुलिँदै ‘जनता केही पनि होइन’ भन्ने नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिए।

पूर्वमन्त्री साहले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गरे। ‘यो सरकार बन्दै गर्दा के के नै गर्छौं भनेर कांग्रेस र एमालेका नेताहरुले ठूलो कुरा गर्नुभयो, तर अहिले व्यवहारमा हेर्नुहोस् त देशको हालत झनै खस्कियो, जनतामा निराशा पैदा भएको छ। भ्रष्टाचार मौलाएको छ। बेथितिको चाङ लागेको छ’–उनले भने।

सरकार आन्तरिक रूपमा मात्रै नभएर बाह्य सम्बन्ध सन्तुलित राख्नसमेत असफल भएको उनको आरोप छ। उनले वर्तमान प्रधानमन्त्री ओलीभन्दा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा परराष्ट्रमन्त्री आरजु राणा नै बढी हाबी देखिएको कुरा प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजनको जिम्मा संयन्त्र बनाएर मन्त्री राणालाई दिईनुलेपनि स्पष्ट पारेको बताए। साहले प्रधानमन्त्री ओलीलाई भारत, चीन र अमेरिकाजस्ता शक्ति राष्ट्रले कुनै महत्त्व नै नदिएको आरोप लगाए।

भारतले भाउ नदिएपछि प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा चीन भ्रमणको गृहकार्यमा रहेको भएपनि अहिलेसम्म आफ्नो चीन भ्रमणबारे मुख नखोल्नुले भ्रमण नै हुने वा नहुनेमा शंका रहेको पनि उनको टिप्पणी छ। उनले भने,‘उहाँले परराष्ट्र मामिलालाई पनि खेलाँचीको रुपमा लिनुभयो। यति वेला उहाँको नजर बेईजिङतिर छ, तर कान चाहिँ नयाँ दिल्लीतिर थाप्नुभएको छ।’ उनले सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसको कारण प्रधानमन्त्री ओली खुम्चिएर र बाँधिएर चल्नुपरेको भन्दै हालत भिजेको बिरालोजस्तो देखिएको टिप्पणी गरे।

प्रकाशित: २३ कार्तिक २०८१ १४:२६ शुक्रबार

#Prabhu saha