राजनीति

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्दै अभिव्यक्ति दिने विरुद्ध कसरी बढ्दै छ अनुसन्धान ?

कात्तिक १४ गते साँझ दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै थियो । खेलमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा पुगेका थिए ।

त्यही बेला ‘प्रधानमन्त्री ओलीको हत्या गर्ने राम्रो मौका’ भन्दै सामाजिक सञ्जालमा एक युवक आह्वान गरिरहेको भिडिओ सार्वजनिक भयो ।

उनी थिए, २० वर्षीय भ्लगर रतन कार्की । उनको घर चितवन रहेको खुलेको प्रहरीले जनाएको छ । विद्यार्थी भिसामा जापानको टोकियोमा रहेका उनी त्यहीँ बसेर उच्छृङ्खल भिडिओमार्फत कन्टेन्ट दिइरहन्छन् । त्यो दिन उनले जारी गरेको भिडिओमा ‘गेम त तपाईँहरूले हेरिरहनुभएको छ नै । तर मैले अर्कै कुरा हेरिरहेको छु के, आज हामीले मार्न सकिन्छ के ! चाहेम भने ।’ भन्दै प्रधानमन्त्री ओलीलाई मार्ने आसयले भड्काऊ अभिव्यक्ति दिएका छन् । ‘बाहिर यत्रो मान्छे छम्, सबै जना मिलेर एउटा ग्रुप बनाएर घेरेर फ्याट्टै मार्‍यो भने मारेको मार्‍यै हुन्छ साथिहरू,’ रतनले त्यो भिडिओमा भनेका छन्,‘आँटम त आज ? आज आटिहालम् अब धेरै टाइम पनि छैन । बुढो गइहाल्छ । मतलब उता जान पनि टाइम छैन, उता जान पनि । बुझ्नु न । आज गरिहालम् ।’

यस्तो हिंसात्मक अभिव्यक्ति दिएको उनको भिडिओ धेरैले हेरेका छन् । उनको यो भिडिओलाई त्यस दिन देखि नै नेपाल प्रहरीले ‘नोटिस’मा राखेर अनुसन्धान थालेको थियो ।

यस क्रममा नेपाल प्रहरीको साइबर ब्युरोले त्यो दिन सामाजिक सञ्जालमार्फत अराजक र भड्काऊ अभिव्यक्ति दिने व्यक्तिबारे लेखाजोखा लिन थालेको थियो । सोही क्रममा रतन पनि ब्युरोको नोटिसमा आएको ब्युरो स्रोत बताउँछ ।

‘त्यस्ता धेरै व्यक्तिबारे नोटिसमा लिएर अनुसन्धान भइरहेको छ । त्यसमध्येका रतन पनि एक पर्छन् । मान्छे नै मार्ने किसिमको हिंसात्मक अभिव्यक्ति दिनेलाई छुट दिनुहुन्न भन्ने छ,’ ब्युरोका एक जना अधिकारीले भने,‘त्यसैले उनीमाथि मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिने र त्यसपछि इन्टरपोलमार्फत नेपाल झिकाउनेसम्मको तयारी छ ।’

उसो त त्यो दिन रंगशालामै प्रधानमन्त्रीविरुद्ध नाराबाजी नै भएको थियो । त्यसबारे प्रहरी पहिल्यै जानकार थियो । सोहीअनुसार ठाउँ ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोत बताउँछ ।

सोहीअनुसार त्यस दिन नाराबाजी गर्ने व्यक्तिहरूको भिडिओ लिएर उनीहरूको पहिचान गरिसकिएको प्रहरी स्रोत बताउँछ । त्यसरी नाराबाजी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का समर्थक भेटिएको प्रहरीले बतायो । रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीको विरोधमा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थनमा नारा लगाउँदा आफूतर्फ आरोप नलाग्ने भन्दै रणनीति नै बनाएर नाराबाजी गरेको अनुसन्धानमा पाइएको प्रहरी स्रोत बताउँछ ।

यो विषयमा पनि प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । ‘नाराबाजी गर्नेको लगभग पहिचान भएको छ । अझै अनुसन्धान चलिरहेको अवस्था हो,’ यो विषयमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘यो एक दुई जनाले भन्दा पनि सामूहिक रूपमा भएको घटना भएकाले विस्तृत अध्ययन र त्यसपछि कसरी कानुनी कारबाहीको दायरामा ल्याउने भन्ने छलफल भइरहेको छ ।’ उनका अनुसार प्रहरीले अराजक र भड्काऊ काम गर्नेहरूलाई पक्राउ गरेरै कानुनी कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ ।

‘यत्तिकै छाड्ने भन्ने हुँदैन । कानुनी दायरामा त ल्याउनै पर्छ । तर कसरी ल्याउने त्यो भने हेडक्वार्टरसँग छलफलपछि यकिन हुन्छ,’ ती अधिकारीले भने । जारी अनुसन्धानको विषय भएकाले धेरै खुलेर भन्न नमिल्ने किसिमका तथ्य रहेको पनि उनले बताए ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी) दानबहादुर कार्कीले ‘प्रधानमन्त्रीलाई मार्नुपर्छ भन्दै’ अभिव्यक्ति दिने विरुद्ध उजुरी नै परेको बताए । उनले भने, ‘त्यस विरुद्ध उजुरी परेको छ । साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा गर्नुपर्ने सबै काम प्रहरीले गर्छ । कानुनी दायरामा ल्याउँछ ।’ यस्तै रंगशालामा नाराबाजी गर्नेहरूबारे पनि अनुसन्धान भइरहेको उनले पुष्टि गरे । ‘त्यस्तो कार्यमा संलग्नहरूको भूमिका र कसुरको मात्रा पहिचान गर्ने काम भइरहेको छ । कसुर मात्राअनुसार अनुसन्धानको दायरा फराकिलो पार्दै अघि बढ्न मातहतका निकाय काम गरिरहेका छन्,’ डिआइजी कार्कीले भने । 

प्रकाशित: २० कार्तिक २०८१ १९:२५ मंगलबार

#KP Sharma Oli #pm kp oli #Ratan Karki