राजनीति

साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने

साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।

साँझ ६ः३० बजेबाट सुरु हुने नेपाल र बङ्गलादेशबीचको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री ओली साँझ ६ बजे नै रङ्गशाला पुग्ने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले उपाधि विजेतालाई पुरस्कार पनि वितरण गर्नेछन्।

सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रकाशित: १४ कार्तिक २०८१ ०७:२२ बुधबार

#Bangladesh #KP Sharma Oli #Dasharath Stadium #SAAF Womens championship 2024 #nepal