राजनीति

प्रधानमन्त्रीद्वारा माओवादीविरुद्ध लडेका सशस्त्र प्रहरीको प्रशंसा !

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा मुलुकभित्रैबाट मच्चाइएको भयावह हिंसा र आक्रमणको सामना गरी सशस्त्र प्रहरी बलले बहादुरी देखाएको बताएका छन्।उनले तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’का नाममा मुलुकमा सञ्चालन गरेको हिंसातर्फ लक्षित गर्दै यस्तो बताएका हुन्।मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा मंगलबार आयोजित सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादीको नाम नलिईकनै मुलुकमा भयावह हिंसा फैलाइएका बेला, विश्वासघाती, धोकापूर्ण र निर्मम आक्रमण भएका बेला सशस्त्र प्रहरीले त्यसको सामना गरेको भन्दै प्रशंसा गरे ।

उनले भने, ‘देशमा भयावह हिंसा फैलिएका बेला, विश्वासघाती र धोकापूर्ण आक्रमण भएका बेला, निर्मम आक्रमणलाई सामना गरेर सशस्त्र प्रहरीले आफ्नो बहादुरी देखाएको छ।त्यसको म प्रशंसा गर्न चाहन्छु।यहाँ त्यस्तो गौरवपूर्ण परिवारमा आउनुभएका अधिकृतहरू हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले अब मुलुकमा कानुनविपरीत क्रियाकलाप हुन नदिने बताए।

दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकोमा बधाईं दिँदै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताए।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संगठनको क्षमता विस्तारमा जोड दिए।उनले मुलुकमा अराजकता र साम्प्रदायिक विद्वेष फैलाउन भइरहेका प्रयास र क्रियाकलापलाई मौलाउन नदिइने बताए।‘नेपाली मनलाई विभाजन गर्ने, अराजक गतिविधि गर्ने, कानुनविपरीतका काम गर्ने प्रयास भएको छ । त्यसलाई सफल हुन दिइनेछैन’, ओलीले भने।उनले बिओपी स्थापनापछि सीमामा अनुचित क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको पनि प्रशंसा गरे।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरी बललाई जनशक्ति, भौतिक पूर्वाधार र युग सुहाउँदो सुरक्षा बन्दोबस्ती सामग्रीयुक्त बनाउन मन्त्रालय प्रयासरत रहेको बताए।उनले मौजुदा स्रोत साधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई निर्देशन दिए।‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानव अधिकार संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरे मुलुकमा लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ,’ उनले भने।

कार्यक्रममा सशस्त्र प्रहरी बलका महानीरिक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।उनले राज्य, संगठन र जनताको आशा र अपेक्षा पूरा गर्ने ढंगबाट कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए।उनले भने, ‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदुंगा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महŒवपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेल वे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिंगो संगठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ।यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ ।’

कार्यक्रममा आधारभूत तालिम सम्पन्न गरेका १६औं समूहका ४५ अधिकृत दीक्षित भए।प्रधानमन्त्री ओलीको उपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन्।कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर उपस्थित थिए ।

प्रकाशित: १४ कार्तिक २०८१ ०६:५३ बुधबार

#oli #KP Sharma Oli