राजनीति

‘किसानका लागि ठुलो काम गर्न नसकौला, तर गलत गर्दिन’

बाँकेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी। तस्बिर: अर्जुन ओली/नागरिक

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानका लागि ठुलो काम गर्न नसके पनि गलत नगर्ने ठोकुवा गरेका छन्। 

नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ बाँकेले मंगलबार कोहलपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले कृषि मन्त्रीको जिम्मेवारी पाएको छु, अर्को कुरा मैले सिङ्गो कांग्रेसलाई बोकेको पनि छु, किसानका लागि ठुलो काम गर्न नसकौला, तर गलत गर्दिन, यदि मैले बदमासी गरे भने मेरो तीन पुस्तालाई हान्छ।’ आफुले गरेको काममा कसैलाई प्रश्न उठाउन नदिने प्रतिबद्धता जनाए।

नेपाली कांग्रेस लगायतका ठुला राजनीतिक दलप्रति वितृष्णा भइरहेको  अवस्थामा आफू यसतर्फ सजग रहेको बताए। कृषि मन्त्रालयले प्राप्त गर्ने बजेटको धेरै रकम अनुदानमै खर्च हुने गरेको बताउँदै त्यसरी वितरण हुने अनुदानमा मन्त्रालयले अब राम्रोसँग अध्ययन गर्ने धारणा राखे। कोहलपुरमा रहेको दुग्ध विकास आयोजनामा पाउडर दूध उत्पादन गर्नका लागि माग भएको जानकारी दिँदै आफ्नो कार्यकालमा यसलाई प्राथमिकतामा राखेको बताए। किसानका थुप्रै समस्याहरू रहेकोमा आफू जानकार रहेको भन्दै मन्त्री अधिकारीले भने, ‘किसानका समस्याहरू धेरै छन्, तत्कालै समस्या समाधान गरिदिन पाए हुन्थ्यो झैँ लागेको छ, तर काम गर्ने क्रममा थुप्रै अप्ठ्यारा आउँदा रहेछन्।’

किसान महासङ्घ बाँकेका अध्यक्ष लाहुराम थारुले रासायनिक मल लिनका लागि किसानहरू पैसा लिएर उभिएर खाली हात घर फर्किनुपर्ने अवस्था रहेको सुनाए। ‘सरकारले किसानका लागि समयमै मलखाद र सिचाईका लागि पानीको व्यवस्था गर्न सक्यो भने धेरै राहत मिल्छ,’ उनले भने। अहिले किसानहरूले बिचौलियाबाट धान बिक्री गर्नु परिरहेको अध्यक्ष थारुले दुखेसो पोखे।

‘सरकारले गरेको निर्णय अनुसार किसानले धानको मूल्य पाइरहेका छैनन्,’उनले भने। त्यसअघि मन्त्री अधिकारीले कोहलपुरस्थित दुग्ध विकास आयोजना कार्यालय, कृषि अनुसन्धान निर्देशनालय र कोषेबाली अनुसन्धान कार्यालय खजुराको स्थलगत निरीक्षण गरेका थिए। बाँके आइपुगेका मन्त्री अधिकारीलाई यहाँका किसान, सहकारी संस्था तथा दुग्ध व्यवसायीले ज्ञापन पत्र बुझाएका थिए।

प्रकाशित: १३ कार्तिक २०८१ १८:१४ मंगलबार