राजनीति

मेरो कुनै त्रुटि भेटिएको भए प्रधानमन्त्री ओलीले सिध्याउने थिए: दुर्गा प्रसाईं

.

सभामा सहभागीलाई अभिवादन व्यक्त गर्दै दुर्गा प्रसाईं। तस्बिर: नागरिक

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो कुनै सामान्य त्रुटि मात्र भएको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सिध्याउने जिकिर गरेका छन्।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले सोमबार इटहरीमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्ना सारा कमजोरी प्रधानमन्त्री ओलीले खोजी गरेपनि केही नभेटेपछि मौन बसेको जिकिर गरेका हुन्।

‘रवि लामिछानेलाई चलाएजस्तो र बालेन साहलाई जिस्काए जस्तो दुर्गा प्रसाईं होइन,’ उनले भने, ‘केही नभेटेर केही दिनअघि केपी ओलीले पूतना पनि जन्माए।’ विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईं केही दिनअघि पक्राउ परेर छुटेका हुन्।

उनले बोल्ने क्रममा अधिकतर समय एमालेसँगै प्रधानमन्त्री ओलीलाई गाली गर्न खर्चेका उनले नीतिगत भ्रष्ट्राचारमा एमाले अघि रहेको आरोप लगाए। ‘केपी ओलीसँगै शेरबहादुर देउवा र प्रचण्डले यो देशलाई बरबाद बनाए,’ उनले आरोप लगाउँदै भने, ‘अहिलेको व्यवस्था परिवर्तन नभएसम्म गरिब र दिन दुखीले सुख पाउँदैनन्।’

प्रसाईंले अहिलेको सङ्घीय लोकतान्त्रिक व्यवस्था परिवर्तनका लागि मंसिर ७ गतेबाट काठमाडौंमा निर्णायक आन्दोलन चर्काउने उद्घोष गरे। ‘अहिलेको व्यवस्था परिवर्तन नभएसम्म देश त रहला तर नेपाली नागरिक रहदैनन, त्यसैले अब सम्पूर्ण सङ्गठित भएर निर्णायक आन्दोलनमा लाग्नुपर्छ, काठमाडौं जान नभ्याउनले आ-आफ्नो ठाउँमा सडक जाम गरेर बस्नुहोस्।’

प्रसाईंले आफूले २०७९ फागुन १ गते बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलन थालेकै कारण पछिल्लो समय १७ प्रतिशतबाट ९ प्रतिशत व्याजमा झरेको बताए।

‘सारा गरिब र दिन दुखीको आँसु पुछ्न अनि घर जग्गा जोगाउने मेरो अभियान हो,’ उनले भने, ‘कतिपयले दुर्गा प्रसाईंले बैक ब्याज नतिर्न यस्तो अभियान चलाएको भनेर भ्रम फैलाउन गरेका छन्। यदि मैले ब्याज नतिर्न भए मलाई बैङ्कले किन ब्ल्याक लिस्टमा राख्न सक्दैन ?’

उनले १६ जना मारवाडी घरानियाँले देशलाई खोक्रो बनाएको दाबी गरे। ‘बर्माबाट आएका मारवाडीका जात, धर्म र देश नै छैन, केवल उनीहरूको काम कसरी हुन्छ, नेपाली दिन दुखीलाई शोषण गर्ने मात्र हो,’ उनले भने, ‘नेपालका धेरै व्यवसायी मारवाडीका कामदार मात्र हुन्।’

सो कार्यक्रममा महाअभियानका सुनसरी जिल्ला संयोजक सरोज सिंहले कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलको पछाडि लाग्दा देश सकिने जिकिर गरे।

‘यो हाम्रो महाअभियान एउटा शक्ति हो, नागरिक शक्ति हो, राष्ट्रवादीहरूको शक्ति हो, यसले पक्कै पनि अहिलेको व्यवस्थामा परिवर्तन ल्याएरै छाड्छ।’ सो क्रममा मानवअधिकारवादी तुलसी थापा, महाअभियानका सदस्य सतिष पोखरेललगायतले बोलेका थिए।

प्रकाशित: १२ कार्तिक २०८१ १८:३० सोमबार