राजनीति

दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

.

.

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संलग्न नेपाली कांग्रेसका नेता धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेललाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

सहकारी छानबिन समितिले गुरुङ र पोखरेल पनि ठगीमा संलग्न रहेको देखाएकाले तत्काल छानबिन गरी दोषी प्रमाणित भए कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकको विश्वास कायम राख्न जोसुकैलाई कानूनको कठघरामा उभ्याउन ढिलाइ गर्न नहुने बताए।

उनले ठगीमा संलग्न सयौं व्यक्तिहरू फरार रहेको बताउँदै भने ‘नयाँ होस् या पुराना, घाम तापेर होस् कि रुखको छायाँमा, सबैलाई अनुसन्धानमा ल्याउनुपर्छ।’

महामन्त्री थापाले सहकारी ठगीमा संलग्न भएका नेताहरूका नाम समिति रिपोर्टमा आएको भन्दै सरकारलाई गुरुङ र पोखरेललगायत सबैको निष्पक्ष छानबिन गर्न आग्रह गरे।

‘नेपाली कांग्रेस, एमाले, राप्रपा, रास्वपा सबैका नेताहरू कानूनभन्दा माथि छैनन्। पाँच पटक प्रधानमन्त्री भएका व्यक्तिहरू पनि न्यायको कठघरामा उभिन तयार हुनुपर्छ,’ उनले स्पष्ट पारे।

महामन्त्री थापाले सरकारले अब निर्णय र कामले मात्र बोल्नुपर्ने सुझाव पनि दिए। उनले ‘प्रधानमन्त्री र मन्त्रीहरूले कम बोल्न र आफ्नो कामले मात्र बोल्न दिन’ आग्रह गर्दै आउँदो ३ वर्ष सरकार स्थिर रहने भएकाले काममा दृढता देखाउनुपर्ने बताए।

प्रकाशित: १२ कार्तिक २०८१ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App