राजनीति

एमालेको साख माटोमा मिल्यो भन्नेहरुलाई ८४ को निर्वाचनमा देखाउँछौं: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमान कुरा गर्नेहरुलाई उत्तरदायी बनाउने चेतावनी दिएका छन्।

रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरुलाई उत्तरदायी बनाउने बताएका हुन्।

एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू नेतृत्वको सरकारले गलत सूचना दिएर मुलुकमा भ्रम फैल्याउनेहरुलाई तह लगाउने हैसियतमा रहेको पनि बताए।

सरकार कमजोर नभएकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरुलाई उत्तरदायी बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो। उनले मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरे। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने उल्लेख गरे। एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो।

प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्‍याए।

प्रकाशित: ११ कार्तिक २०८१ १७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App