राजनीति

व्यवस्थापन गर्नै गाह्रो

काठमाडाैं – राष्ट्रिय जनता पार्टी नेपालका  ६ जना अध्यक्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ। खासगरी महाधिवेशनपछि ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ।

पार्टीको पहिलो महाधिवेशन आगामी कात्तिकमा गर्ने तयारी पार्टीका नेताहरूले गरेका छन्। आगामी बैशाख ८ गते बस्ने राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तिथि तय गर्ने पार्टीका नेताहरूले बताएका छन्।

अध्यक्षमण्डल बनाई चलेको पार्टीमा हरेक निर्णय ६ जनाको बैठकबाट हुने गरेको छ।  महाधिवेशनपछि पुनः अध्यक्षमण्डल बनाउने कि एकजना मात्र अध्यक्ष राख्ने भन्ने बहस पार्टीभित्र सुरू भएको छ। एकजना मात्र अध्यक्ष राखेमा  अहिलेका ६ अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्नेमा समस्या देखिएको छ।

महाधिवेशनपछि पुनः अध्यक्षमण्डल बनाउने कि एकजना मात्र अध्यक्ष राख्ने भन्ने बहस पार्टीभित्र सुरू भएको छ। एकजना मात्र अध्यक्ष राखेमा  अहिलेका ६ अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्नेमा समस्या देखिएको छ।

गत साल बैशाख ७ गते राजपा गठन हुँदा एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर एक वर्षभित्र महाधिवेशन हुने सम्भवना  सकिएको छ । थप ६ महिना महाधिवेशनको  म्याद थप्ने तयारी नेताहरूले गरेका छन्। बैशाख ८ मा बस्ने अध्यक्षमण्डलको बैठकले पहिलो महाधिवेशनको लागि विधान मस्यादौ समिति बनाउने भएको छ। तर विधान बनाउँदा ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्नेमै  समस्या देखिएको छ। राजपाका प्रवक्ता सन्तोष मेहताले महाधिवेशनपछि राजपामा अध्यक्ष मण्डल राख्ने कि एकल नेतृत्वमा जाने भन्ने विषयमा गम्भीर रूपमा बहस सुरु भएको बताए। ‘अहिलेको अध्यक्ष मण्डल कायमै  राख्ने हो भने ६ जना अध्यक्षको व्यवस्थापन गर्न समस्या छैन तर एकल नेतृत्वमा जाने हो भने ६ अध्यक्षलाई कसरी राख्ने भन्ने बहस पार्टी भित्र सुरु भएको छ,’ उनले भने। प्रतिनिधिसभाको चुनाव सकिएको ५ महिना हुन लाग्दा पनि राजपाले अहिलेसम्म संसदीय दलको विधान बनाउन सकेको छैन। न त संसदीय दलको नेता नै चयन गर्न सकेको छ। राजपा अध्यक्षमण्डलमा रहेका ६ जना नै प्रतिनिधिसभामा निर्वाचित भएर आएका छन्। उनीहरूमध्येबाट एकजना नेता छान्न अहिले सकस परिरहेको छ।  संसदीय दलको नेताको लागि अध्यक्षमण्डबाट दुईजना आकांक्षी देखिएपछि सर्वसम्मत नेता चयन हुन सकेको छैन। पार्टीको महाधिवेशनमा यो  समस्या झनै थपिने राजपाका दोस्रो तहका नेताको भनाइ छ।

राजपा केन्द्रीय सदस्य सवर प्रजापतिले राजपा एकल नेतृत्वमा गए पार्टीको संगठन मजबुत र चुस्त हुने बताउँछन्। उनी भन्छन्, ‘सामूहिक नेतृत्वभन्दा एकल नेतृत्व पार्टीका लागि उपयोगी हुन्छ।’ पार्टी एकल नेतृत्वमा गएमा हालका ६ अध्यक्षलाई कहाँ राख्ने भन्ने बहस पार्टीभित्र अहिलेदेखि नै सुरु भएको छ। राजपा अध्यक्ष मण्डलमा रहेका ६ जनै पार्टी एकताअघि फरकफरक पार्टीका अध्यक्ष हुन्। राजपा घोषणा हँुदा दुईदुई महिनामा अध्यक्ष मण्डलका संयोजक परिर्वतन हुने र एक वर्षभित्र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा गरेको थियो। यसअनुसार महन्थ ठाकुरपछि राजेन्द्र महताको पालो आउने थियो। तर पार्टी घोषणा भएको करिब एक वर्ष हुनलाग्दा पनि अध्यक्षमण्डलका संयोजक परिर्वतन भएका छैनन्। अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले नै पार्टीको नेतृत्व गरेका छन। तर महाधिवेशनपछि यसलाई कसरी मिलाउने भन्ने पार्टी नेतृत्वलाई सकस परेको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०३:३९ आइतबार

व्यवस्थापन गर्नै गाह्रो