राजनीति

बस्तीमा हात्ती छिर्‍यो, सावधानी अपनाउन आग्रह

.

फाइल तस्बिर।

चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ। यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो।

यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।

उनका अनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन्। हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासन भनेको छ।

हात्ती समूहमा छिर्ने र फरकफरक ठाउँमा गएर नागरिकलाई आक्रमण गर्ने, अन्नबाली नष्ट गरिदने गरेको सूचना अधिकारी थापामगरले बताए। धानखेती भित्र्याउने समयमा समूहमा हात्ती आउँदा स्थानीय त्रसित हुने गरेका छन्। नेपालबाट भारत र भारतबाट नेपालमा समयसमयमा जङ्गली हात्ती आवतजावत गर्ने गरेकाले पनि बस्ती असुरक्षित बनेको उनले सुनाए।

“जङ्गली हात्तीलाई लखेट्न निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली परिचालन गरिएको छ”, सूचना अधिकारी थापामगरले भने, “हात्ती भगाउन ढ्याङ्ग्रो ठटाउने, राँको बाल्नेलगायत काम गर्दै आएका छौं। हात्ती हिंश्रक भएमा प्लाष्टिकको गोलीले हवाई फायरसमेत गर्ने गरी तयारी अवस्थामा छौं।”

प्रकाशित: ११ कार्तिक २०८१ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App