राजनीति

माओवादी केन्द्रको खबरदारी सभा, कांग्रेस–एमालेसँग सहकार्य गल्ती: दाहाल

दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि सत्ताबाट बाहिरिएको १०० दिन कटेलगत्तै माओवादी केन्द्र सडकमा उत्रिएको छ।  सडक मोर्चामा शीर्ष नेता नै उत्रिएका हुन्। माओवादीले सरकारविरुद्ध शनिबार काठमाडौंको भृकुटीमण्डपमा ‘खबरदारी सभा’ गर्दा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सडकमै ओर्लिए।  सभाअघि सडकमा निकालिएको र्‍यालीमा समेत अध्यक्ष दाहाल सहभागी रहे।  

अध्यक्ष दाहाल माओवादीको ब्यानर बोकेर संघीय राजधानीमा १५ वर्षपछि सडकमा ओर्लिएका हुन्।  यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्र्रतिनिधिसभा विघटन गर्दा माओवादी अस्तित्वमा थिएन।  एमालेसँग एकीकरण गरेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्रोही खेमाको नेतृत्व गर्दै दाहाल सडकमा ओर्लिएका थिए। त्यसअघि २०६६ सालमा तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेतृत्वको सरकार हुँदा हालको माओवादी केन्द्र एकीकृत माओवादीका नाममा राजधानीका सडकमा उत्रिएको थियो।

सडकबाट सरकार फ्याँक्ने उद्घोषसहित उत्रिएको तत्कालीन एमाओवादीले राजधानीवासीको साथ नपाएर ६ दिनमै घुँडा टेकेको थियो। उतिबेला अध्यक्ष दाहालले ‘सहरका सुकिलामुकिलाले साथ नदिएको’ भन्दै आक्रोश पोखेका थिए। २०६४ सालको माओवादीको ‘प्रचण्ड शक्ति’ त्यही आन्दोलनबाट स्खलित हुन थालेको विश्लेषण गर्नेहरू पनि छन्।  शान्तिप्रक्रियापछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ यता १३ वटा ९२०७८ सालमा ओली नेतृत्वको ६० दिनको अल्पमतको सरकारबाहेक० सरकार बनेका छन्।  जसमध्ये नौ वटा सरकारमा माओवादी आफैं सामेल थियो।

२०६४ सालपछि तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको, २०६९ सालमा खिलाराज रेग्मीको अध्यक्षतामा बनेको, २०७० सालको अर्को संविधानसभा निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्वको सरकार र वर्तमान सरकारबाहेक सबैजसोमा माओवादी केन्द्र सामेल छ। यी १६ वर्षमा झन्डै ११ वर्षभन्दा बढी समय माओवादी केन्द्र सरकारमा छ। चारवटा सरकारको नेतृत्व माओवादीले नै गरेको छ।  जसमध्ये तीनवटा सरकारको नेतृत्व अध्यक्ष दाहाल आफैंले गरेका छन् भने एउटामा डा। बाबुराम भट्टराईले नेतृत्व गरेका थिए।

विपक्षमा पुग्दा विद्रोही स्वर

जनमत खस्कँदै जाँदा शक्ति घट्दै गए पनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ।  तर जब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर उराल्दै आएको छ।  कतिपय अवस्थामा आफू सत्तामै हुँदा पनि माओवादीले आफ्ना कार्यकर्ता सडकमा उतार्ने गरेको इतिहास पनि छ।

२०६६ सालमा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउन खोज्दा नसकेपछि दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएर कार्यकर्तालाई सडकमा उतारेका थिए। त्यसपछि बनेको माधव नेपाल नेतृत्वको सरकारविरुद्ध पनि सडक र सदनमा मोर्चा खोलेर उनले आन्दोलन गरेका थिए।

२०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश रेग्मी अध्यक्षताको सरकार रहेका बेला भने माओवादीले विभिन्न मुद्दामा चर्को विद्रोही स्वर फलाँके पनि सडक आन्दोलन नै भने गरेन। तर २०७० सालको संविधानसभा निर्वाचनमा अप्रत्यासित नतिजा आउँदा भने अध्यक्ष दाहाललाई स्वीकार गर्न हम्मेहम्मे परेको थियो।  केही ठाउँमा माओवादीले निर्वाचनमा धाँधली गरेर हराएको आरोप लगाउँदै प्रदर्शनसमेत गरेको थियो।

त्यसपछि बनेको कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारका बेला संविधान निर्माणका क्रममा केही मत बाझिएका विषयमा बाहेक ठुलै आन्दोलन माओवादीले गरेन। अध्यक्ष दाहालले सत्तापक्षसँग समझदारीमै संविधान जारी गर्ने भूमिका खेलेका थिए। संविधान निर्माणपछि भने सरकार फेरबदल गर्दा दाहाल जहिल्यै चर्को सुनिए। यो अवधिमा माओवादी र अध्यक्ष दाहाल सरकार बनाउने र गिराउने प्रमुख पात्र नै बनिरहे।  २०७४ सालको निर्वाचनपछि नेकपा कालमा प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्रै चरम दबाब सिर्जना गर्दा ओलीले दुई पटक असंवैधानिक संसद् विघटन गरे। त्यसविरुद्ध नेकपाकै ब्यानरमा दाहाल माधवकुमार नेपालसहित सडकमा उत्रिएका थिए।

त्यसपछि माओवादी केन्द्र विपक्षमा पुगेको यसैपटक हो। २०७९ को निर्वाचनपछि कहिले कांग्रेस कहिले एमालेको काँध फेर्दै एक वर्ष ३०३ दिन सरकार चलाएका दाहालले नै पत्याउन नसक्ने गरी असार १७ गते कांग्रेस–एमालेले सात बुँदे सहमति गरे। त्यसपछि बनेको ओली नेतृत्वको सरकारलाई दाहालले अलोकतान्त्रिक र असंवैधानिक बाटोबाट बनेको भनेर विश्लेषण गरिरहेका छन्। यो सरकारले देशलाई निरंकुशतातिर लैजान खोजेको भन्दै उनले सुरुदेखि नै आरोप लगाउँदै आएका छन्। आफूले भ्रष्टाचारीविरुद्ध कारबाही गर्दा सरकार ढालेको उनको अर्को आरोप छ। प्रधानमन्त्री ओलीले संविधान नै मासेर देशलाई प्रतिगमनतिर लैजान खोजेको भनी दाहालले चर्को स्वरमा भन्दै आएका छन्।  माओवादी केन्द्रको यसपटकको खबरदारी सभा पनि यिनै आरोपवरिपरि वकालत गरेर टुंगिएको छ।

खबरदारी सभामा दाहालले सरकार हटाउन नभई गणतन्त्रको रक्षाका लागि खबरदारी सभा गरिएको अध्यक्ष दाहालले दाबी गरे। ‘अहिले सरकार हटाउन यो खबरदारी सभा गरिएको होइन,’ दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति हामीले के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा हामीलाई गहिरो गरी बोध छ।’ गणतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानको जगमा आएको दाबी गर्दै उनले कहीँकतैबाट आघात नपुगोस् भनेर खबरदारी सभा गरेको बताए।

‘हामीले खबरदारी सभा नगर्ने हो, सरकारका बेथिति र भ्रष्टाचारी गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ,’ दाहालले भने। खबरदारी सभा घोषणा गर्दा सरकार आतंकित भएको दाहालले दाबी गरे। उनले भने, ‘सरकार आजै ढल्छ, भोलि ढल्छ हामीले भनेका छैनौं। उहाँहरूले भन्नुभएको छ।  खबरदार, तपाईहरु सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला। ’ माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने भ्रम नपाल्न उनले आग्रह गरे।

यस्तै आफूले कांग्रेस–एमालेसँग साझेदारी गरेर गल्ती गरेको समीक्षा गरेको दाहालले दाबी गरे।  ‘हामीले के समीक्षा गरेका छौं भने तपाईंहरूजस्ता पार्टीहरू जो यो देशका दलाल, पुजीपति र बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिका रूपमा रहनुभएको छ। हामीले केही समय तपाईंहरूसँग सहकार्य गरेर गल्ती गर्‍यौं भन्ने परेको छ हामीलाई,’ उनले भने, ‘ तपाईहरुको रोग हामीलाई पनि सर्‍यो भन्ने चिन्ता छ। हामी गम्भीर आत्मसमीक्षामा छौं। ’ अब समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर कांग्रेस–एमालेकहाँ नजाने उनले दाबी गरे।

‘हामी प्रतिक्रियावादीहरूसँग हिँड्दाहिँड्दा उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो। तपाईंहरूले हामीलाई बेलैमा निकालिदिनुभयो र जनतातिर फर्काइदिनुभयो।  त्यसकारण हामी तपाईंहरूलाई धन्यवाद भनिराखेका छौं,’ दाहालले भने। उनले आफ्नो भाषणका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बचाउन खबरदारी सभा नगरेको दाबी गरे। पहिला संसद्मा सहकारी ठगीको विषय उठ्दा आफूले नै संसदीय छानबिन समिति बने पनि हुन्छ भन्दा प्रधानमन्त्री ओलीले हुन्न भनेको स्मरण गराए।

व्यवसायी मीनबहादुरु गुरुङको भाटभटेनी सुपरमार्केटमा आफ्नो लगानी नभएको कुरा क्लियर भएको पनि दाहालले दाबी गरे।  ‘मलाई एउटा आरोप थियो।आरोप त धेरै लगाउने गरेका थिए प्रतिक्रियावादीले।  यो भाटभटेनी भन्ने प्रचण्ड (दाहाल) को हो भनेर दुईचार वर्षदेखि,’ अध्यक्ष दाहालले भने, ‘म होइन भन्छु, पत्याउने कसैले होइन। प्रचण्डकै हो भनेर हिँड्याछन् मान्छेहरू। अब हाम्रो नेतृत्वको सरकारले गिरफ्तार गर्दा पनि प्रचण्डकै हो भन्याथे उनीहरूले। म हैरान थिए, यो के गरी क्लियर गर्ने भनेर। ’ अहिले प्रधानमन्त्री ओलीले क्लियर गरिदिएको अध्यक्ष दाहालले बताए।  यस्तै पछिल्लो समय आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको भन्ने हल्लामा सत्यता नभएको पनि दाहालले प्रस्टीकरण दिए।  

प्रकाशित: ११ कार्तिक २०८१ ०६:३१ आइतबार

#protest #Maoist Center