राजनीति

कांग्रेस–एमालेलाई दाहालले भने: तपाईंहरूसँग सहकार्य गरेर गल्ती गरेँ

<br>

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब आफू मन्त्री, प्रधानमन्त्री बनाइदेऊ भनेर कांग्रेस–एमालेसमक्ष नजाने बताएका छन्।

माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले अब माओवादी त्यसरी नआउने बताउँदै ढुक्कसँग सरकार चलाउन आग्रह गरे।

‘तपाईं (कांग्रेस–एमाले) हरू हामीसँग ढुक्क भए हुन्छ, अब तपाईंहरूसँग समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं,’ अध्यक्ष दाहालले भने।

माओवादी सडकमा आएर सरकार ढाल्न नलाग्ने पनि उनले बताए। ‘माओवादीलाई बरु के चिन्ता भएको छ, हामीले के समीक्षा गरेका छौं भने तपाईंहरू जस्ता पार्टीहरू जो यो देशका दलाल पुँजीपति, बिचौलिया र भ्रष्टहरूको प्रतिनिधि रहनुभएको छ, हामीले तपाईंहरूसँग केही समय सहकार्य गरेर गल्ती गर्‍यौं भन्ने परेको छ हामीलाई,’ उनले भने, ‘हामीले तपाईंहरूसँग समीकरण गरेर गल्ती गर्‍यौ। तपाईंहरूको रोग अलिअलि हामीलाई सर्‍यो भन्ने चिन्ता छ, हामी गम्भीर आत्म समीक्षामा छौं।’

आफूलाई सरकारबाट हटाएर राम्रो गरेको पनि अध्यक्ष दाहालले बताए। ‘मैले प्रतिनिधिसभामा पनि धन्यवाद दिएका थिएँ। हामी अलिअलि बिग्रिन थालेका थियौं, हामी जनताबाट कट्न थालेका थियौं, प्रतिक्रियावादीसँग हिँड्दाहिँड्दै हामी पनि उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो,’ उनले भने, ‘तपाईंहरूले हामीलाई बेलैमा निकालेर जनतातिर फर्किदिनुभयो।’

प्रकाशित: १० कार्तिक २०८१ १५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App