राजनीति

रवि पक्राउविरुद्ध माइतीघरमा उत्रियो रास्वपा (तस्बिरहरू)

सहकारी ठगी प्रकरणमा आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँमा प्रदर्शन सुरु गरेको छ। पछिल्ला केही दिन कास्कीको पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले शुक्रवारबाट काठमाडौं केन्द्रीत आन्दोलन गर्ने बताएको थियो।

जसअनुसार अहिले माइतीघरमा प्रदर्शन थालेको छ । कास्कीको सूर्य दर्शन सहकारीको बचत रकम अपचलनमा कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि कात्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । उक्त पक्राउलाई रास्वपाले आफूमाथि प्रतिशोध साँधिएको अर्थ्याएको छ । जसअनुसार रास्वपा पक्राउ परेदेखि नै सडकमा छ। उता पक्राउ पर्नुअघि र हिरासतमै रहँदा लामिछानेले पनि आफूमाथि प्रतिशोध साँधिएको भन्दै आन्दोलनमा उत्रन आह्वान गरेका थिए। 

पक्राउपछि लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते अदालतमा पेस गर्दा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो। त्यो म्याद सकिएपछि बिहीबार फेरी अदालतमा पेस गर्दा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बाटो खोलिएको छ।

प्रहरीले लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका कसुरमा अनुसन्धान गरिरहेको छ।

उता बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बिहीबार रुपन्देही जिल्ला अदालतले लामिछाने लगायत १२ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिरहेको छ।

यता अदालतले एकपछि अर्को गर्दै अनुसन्धान गर्न प्रहरीलाई बाटो दिइरहँदा रास्वपाले भने राजधानीका सडकमा आन्दोलन थालेको छ।

प्रकाशित: ९ कार्तिक २०८१ १४:०३ शुक्रबार

#RSP-Rastriya Swatantra Party