राजनीति

‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा

सरकारका १०० दिनको कामसँग आफूहरू सन्तुष्ट रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । कांग्रेस सम्मिलित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिन पूरा गर्दा सरकारले गरेका कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाले बताएका हुन् । 

‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु,’ सभापति देउवाले भने । 

'हनिमुन डेज'मा सरकारले राम्रै काम गरिरहेको बताउँदै केही नराम्रो भएको छ त ? भनेर देउवाले प्रश्न गरे । उनले भने, ‘सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ?’ 

सरकारले गति लिएको, बाढी पहिरोमा राम्रो खोज र उद्धारको काम गरेको पनि देउवाले बताए ।  ‘ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम’, देउवाले अगाडि भने । 

कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’ 

कांग्रेसभित्र सरकारप्रति असन्तुष्टि भइरहेको भन्ने प्रश्नमा कहाँ असन्तुष्टि छ भन्दै प्रतिवाद गरे । ‘कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ?,’ उनले प्रश्न गरे, ‘कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’


–न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित: ९ कार्तिक २०८१ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App