राजनीति

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परी बयान चलिरहेको अवस्थामा उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको हो ।  

‘गत वर्ष नै अनुसन्धान सुरु भएको थियो । सरकार फेरिएर उहाँ सरकारमा सहभागी भएपछि त्यो रोकिएको थियो । बैंकहरूबाट विवरण माग्ने काम गत वर्ष नै भएको हो । त्यसकै आधारमा अनुसन्धान हुनेछ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकृतले भने, ‘सरकारमा गएपछि अनुसन्धान रोकिए पनि पक्राउ परेपछि उहाँमाथि अनुसन्धान गर्न सहज हुने भएको छ।’

गत वर्ष नै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले रविको सम्पत्ति खोजबिन सुरु गरेको थियो।  

ग्यालेक्सी टेलिभिजनको सेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन २०८० माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको थियो । तर त्यसपछि लामिछाने स्वयं सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा सहभागी भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो ।

अहिले पक्राउ परेपछि भने विभागलाई पनि अनुसन्धान गर्न सहज भएको स्रोतको भनाइ छ। संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप सात दिनको म्याद लिइएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।

कास्की प्रहरीले लामिछानेसहित पूर्वडिआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाईलाई पनि अनुसन्धान लागि थप सात दिन समय लिएको छ। विभागले उनीहरूविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ ।  

गत वर्ष चिठीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको थियो । लामिछानेसँगै ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गीतेन्द्रबाबु (जिबी) राईको विवरण माग गरिएको थियो। विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेस्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको थियो।

  

ग्यालेक्सीमा प्रबन्ध निर्देशक रहँदाका बखत भएको उक्त गैरकानुनी कारोबारमा ‘स्वेट सेयर’ लिएका लामिछाने पनि मुछिएका थिए । सोही कारण कारोबार शंकास्पद देखिएपछि सम्पत्ति शुद्धीकरणले दुवै जनामाथि छानबिनका सो विवरण मागेको भए पनि त्यतिबेला रोकिएको थियो ।विभागले सहकारी प्रकरणमा मात्र होइन, लामिछाने अमेरिकी नागरिक हुँदाका बखत नेपालमा बसेर गरिएको कारोबारको विषयमा पनि अनुसन्धान गर्ने भएको छ।

‘अमेरिकामा रहेकी पत्नी र सन्तानलाई भरणपोषणका लागि नेपालबाट पठाइएको रकमको स्रोत र पठाउने प्रक्रियाको विषयमा पनि अनुसन्धान हुनेछ,’ विभागका एक अधिकारीले भने, ‘राज्यलाई ढाँटेर र छलेर गरिएको गतिविधि भए ती सबै विवरणबारे विभागले अनुसन्धानको दायरामा राख्नेछ।’

रास्वपाका सभापतिसमेत रहेका लामिछानेले यतिबेला कास्की प्रहरीमा बयान दिइरहेका छन्। बयानमा उनले आफ्नो कुनै पनि प्रकारको गल्ती नभएको भन्दै राज्यले प्रतिशोध साँधेको बताएका थिए । राज्यले प्रतिशोध लिएको भन्दै उनको पार्टी रास्वपा यतिबेला आन्दोलनमा छ । रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।

प्रकाशित: ९ कार्तिक २०८१ ०६:२२ शुक्रबार