राजनीति

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले शनिवार खबरदारी सभा गर्ने

<br>

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल भएको  निष्कर्ष निकाल्दै सरकारविरुद्ध शनिवार काठमाडौँमा खबरदारी सभा गर्दैछ।  

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो।तर अन्य प्रदेशमा तिहारअघि विरोध प्रदर्शन वा खबरदारी गर्ने कार्यक्रम नरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

‘बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा १० गते जनप्रदर्शनसहित खबरदारी सभा गर्न लागिएको सापकोटाले बताए। तिहारपछि देशभर गरिने विरोधका कार्यक्रम सार्वजनिक गरिने सापकोटाको भनाइ छ।

कर्णाली प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य कालीबहादुर मल्लले केन्द्रमा बाहेक अन्य प्रदेशमा विरोध वा खबरदारीको कार्यक्रम तय नभएको जानकारी दिए।  

सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले पनि प्रदेशस्तरमा सरकारविरुद्ध खबरदारी कार्यक्रम नराखिएको बताए। तिहार नजिकै आएकाले प्रदेशस्तरमा विरोध प्रदर्शनको कार्यक्रम नराखिएको उनले बताए। केन्द्रको निर्देशन आउँदा साथ जनपरिचालनसहितका कार्यक्रम बनाउने उनको भनाइ छ।

ओली सरकारको सय दिन पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ। सरकारको सय दिनको कामको समीक्षा गर्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र पनि बुझाइसकेका छन्। माग पुरा नभए तिहार र छठ पर्वपछि देशव्यापी आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्। 

प्रकाशित: ८ कार्तिक २०८१ १३:४० बिहीबार

#Maoist_Center #birodh