राजनीति

म्याद थपका लागि पूर्व गृहमन्त्री लामिछानेलाई आज कास्की जिल्ला अदालत पेश गरिँदै

फाइल तस्वीर

सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गर्दैछ। हिजो अबेरसम्म पनि बयान नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालत पेश गर्न लागेको हो। जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो। सो म्याद आज सकिएको छ।  म्याद थपका लागि लामिछानेलाईआज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए।  

अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ।सरकारी वकिलको कार्यालयमा बुधबार दिउसो साढे दुई बजेबाट सुरु भएको बयान अबेरसम्म पनि नसकिएपछि लामिछाने असन्तुष्ट बनेका थिए। बयान अधुरो राखेर म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले असन्तुष्टि जनाएको प्रहरी स्रोतको भनाई छ। 

प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान नसकिएको हो। लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

प्रकाशित: ८ कार्तिक २०८१ ०८:२५ बिहीबार

#rabi lamichhane #court