राजनीति

लुम्बिनीमा थपिए तीन मन्त्री, शपथ बिहीबार

लुम्बिनी प्रदेशमा तीन मन्त्री थपिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेसबाट २ र जसपा बाट एक मन्त्री थप गरेका हुन्।

कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई मन्त्री नियुक्त गरेका हुन्। थपिएका तीन मन्त्रीको शपथ बिहीबार हुने भएको छ। उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ खुवाउने छन्।

बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो।

यसै गरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए। 

कांग्रेसबाट मन्त्री नियुक्त भएका तिमिल्सिना पहिलो चरणमै मन्त्री बन्ने सुचीमा थिए। तर उनलाई अन्तिम समयमा शपथ खुवाइएको थिएन। पहिलो चरणमा मन्त्री बन्नबाट पछाडि पारिएका तिमिल्सीना मन्त्री बन्ने दौडमै थिए।

बुधबार सरकारमा तीन मन्त्री थपिए पनि मन्त्री परिषद्ले पूर्णता भने पाएको छैन। प्रदेशमा एक मन्त्रालय अझै रिक्त छ। अहिले ११ सदस्यीय मन्त्री परिषद् बनेकोमा यो प्रदेशमा १२ मन्त्रालय हुन्। अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त रहेको छ। यो मन्त्रालय साना दलहरुलाई दिने तयारी मुख्यमन्त्रीको छ। तर मन्त्रालयमा दाबी गरिरहेका नागरिक उन्मुक्ति र लोसपाबाट कसलाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा मुख्यमन्त्री अनिर्णीत छन्।

बुधबार लामो प्रयास पछि मुख्यमन्त्री तीन मन्त्री नियुक्त गर्न सmल भए। मूलतः कांग्रेसबाट मन्त्री बन्ने आकाङ्क्षीहरू बढी भएका कारण कांग्रेसले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन सकेको थिएन। लामो प्रयास पछि कांग्रेसले आफ्नो दलबाट मन्त्री बन्ने दुई जनाको नाम टुंगो लगाएर मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो। 

प्रकाशित: ७ कार्तिक २०८१ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App