राजनीति

रास्वपा कार्यकर्ताले राज्यका तटस्थ निकायलाई आतङ्कित तथा त्रसित बनाए: नेपाली कांग्रेस

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ।

राज्यका तटस्थ निकायहरूलाई आतङ्कित तथा त्रसित पारी रास्वपा कार्यकर्ताले अनुचित दबाब सिर्जना गर्ने गतिविधि गरिरहेको कांग्रेसको भनाइ छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै पोखराका सडकमा भइरहेका रास्वपा कार्यकर्ताको प्रदर्शनले नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने काम भइरहेको बताएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका गतिविधिप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ।’

कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्‍याउनु प्रत्येक नागरिकको कर्तव्य हुने बताउँदै कांग्रेसले यसप्रति कुनै पनि राजनीतिक दल थप जिम्मेवार बन्नुपर्ने बताएको छ।

कानुन सबैका लागि समान हुने र हुनु पनि पर्ने उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको उल्लेख गरेका छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरु माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिवद्ध छ । विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौं।’

प्रकाशित: ७ कार्तिक २०८१ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App