राजनीति

छानविनको प्रक्रियालाई सडकबाट प्रभावित नपार्न रास्वपालाई सत्ता गठबन्धनको चेतावनी

सत्तारुढ दलले कानुनी प्रक्रियामा गइसकेको विषयलाई सडकमा उचाल्नु उचित नभएको निश्कर्ष निकालेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको सत्तागठबन्धन दलको बैठकले  संसदीय छानविन समितिको निर्देशन अनुसार कारवाही प्रक्रिया अघि बढाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आन्दोलन गरेर न्यायपालिका प्रभावित पार्न खोजेको ठहर गरेको हो। 

बैठकपछि एमाले महासचिव शंकर पोख्रेलले छानविन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुने भन्दै सडकमा भिड जम्मा गरेर छानविन र अदालतलाई  प्रभावित पार्ने खालको गतिविधि स्वीकार्य नहुने बताए। न्याययिक प्रक्रियामा आन्दोलन गर्नु लोकतान्त्रिक दृष्टिकोणले उचित नहुने पोख्रेलले बताए। 

फौजदारी अभियोगमा छानविन चलिरहेको बेलामा सडकबाट छानविनको प्रक्रियालाई रास्वपालले प्रभावित गर्न खोजेको सत्तारुढ दलको बुझाई छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतका शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततामा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेपछि अदालत र सरकारलाई दबाब बढाउने गतिविधि भइरहेको ब्रिफिङ गरेका थिए। सत्तामा रहेका दलहरुले न्यायिक छानविनलाई खलल नपुर्याउन आग्रह गर्दै छुट्टा छुट्टै वक्तव्य जारी गर्ने सहमति भएको बताइएको छ।  

प्रकाशित: ७ कार्तिक २०८१ १२:२३ बुधबार

#Baluwatar #sattarudh