राजनीति

एक्लिँदै सिके राउत

जनमत पार्टीमा प्रभुत्व जमाउन खोज्दा अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउत पछिल्लो समय एक्लिँदै जान थालेका छन् । पार्टीमा एकछत्रराज गर्ने ढंगले अघि बढ्दा निकट नेता–कार्यकर्ताहरूबाट उनले साथ पाउन छाडेका छन्।

६ वर्षअघि पृथक्तावादी आन्दोलन छाडेर मूलधारकोराजनीतिमा आएपछि मधेसमा वैकल्पिक शक्तिका रूपमा चर्चा गर्न थालिएका राउतमाथि उनकै कार्यकर्ताले अलोकतान्त्रिक बन्दै गइरहेको आरोप लगाउन थालेका छन् । 

अध्यक्ष तानाशाही बन्दै गएको भन्दै विगतमा पृथक्तावादी आन्दोलनका बेला साथ दिएका सञ्जय यादवसहितका नेताहरू मात्र नभई पार्टी गठन भएपछि सक्रिय रूपमा सघाएका शशी कपुर मिया, करिमा बेगम, विजय यादव, शूवीरनाथ पाण्डे, शनि दुबेलगायत नेताहरूसमेत यतिबेला उनका साथमा छैनन् । 

पार्टी प्रणालीअनुसार नचलेको, केन्द्रदेखि वडासम्म एक्लै निर्णय गर्ने गरेको, पार्टीभित्र अरू सबैलाई कारिन्दा ठान्ने गरेको, भाइ जयकान्तराउतबाहेक कसैको कुरा सुन्ने नगरेको, स्पष्ट विचार नभएकोलगायत आरोपराउतमाथि लाग्ने गरेको छ। 

गत असोज १२ गतेराजीतिक समिति सदस्य, केन्द्रीय सदस्य, जिल्ला सदस्यसहितका नेताहरूको ३१ जनाको टिम जनमत पार्टी छाडेर उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा प्रवेश गरेको थियो। 

यसैगरी अर्को एउटा ठुलो टिम पनि यही कात्तिक २८ गते जसपा नेपालमा प्रवेश गर्ने तयारीमारहेको बताइएको छ ।सो टिममारहेकाहरूको नाम गोप्यराखिएको छ । ‘एकैपटक २८ गते थाहा हुन्छ । त्यो बेलाराउतजी चकित पर्नुहुनेछ,’ एक नेताले भने ।गत जेठमा भारत भ्रमणमा गएको नेपालकाराजनीतिक दलहरूको एउटा टोलीमाराउतले जनमत पार्टीबाट आफ्ना भाइ जयकान्तलाई पठाए। 

भारत भ्रमण गर्नुभन्दा एक दिनअघि राउतले एकल निर्णय गरी भाइलाई केन्द्रीय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख बनाएको घोषणा गरे। यो निर्णयलाई जनमत पार्टीका अन्य नेताहरूले अध्यक्षको स्वेच्छाचारी कदम भन्दै भित्रभित्रै विरोध गरे तर बोल्न सकेनन्। केन्द्रीय परिषद् अध्यक्ष हुनुअघिसम्म जयकान्त जनमत पार्टीबाटराष्ट्रिय योजना आयोगको सदस्य थिए। 

आयोगको सदस्यबाटराजीनामा गर्नेबित्तिकै उनलाई केन्द्रीय परिषद् अध्यक्ष बनाइएको थियो। राउतको कार्यशैलीको विरोध गर्दा पार्टी सचिव बिपी साह तीन महिनासम्म निलम्बनमा परे। भर्खरै मात्र उनको निलम्बन फुकुवा भएको छ।

‘हामीले उहाँ (राउत) लाई मधेसका उदाउँदो शक्ति, वैकल्पिक शक्तिका रूपमा हेरेका थियौं । त्यसैले सक्रिय साथ दिएका थियौ । तर उहाँको गतिवधिहरू यति निरकुंश हुन थाले कि पार्टी प्रणालीअनुसार उहाँ चल्न छाड्न भयो,’ जनमत छाडको शशी कपुर भन्छन्, ‘बाध्य भएर हामीले जनमत छाड्ने निर्णय गरेका हौं।’

कुनै बेला मधेसमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रतिस्पर्धीका रूपमा चिनिएकार मधेस आन्दोनलका ‘नायक’ भनेर यादवको पहिचानलाई टक्कर दिन सक्छन् भनेर अनुमान गरिएका नेता हुन् राउत। तर यो पहिचानमा पछिल्लो समय धमिरा लाग्दै गएको मधेस आन्दोलनका विश्लेषकहरू बताउँछन् । ‘पछिल्लो समय जनमत पार्टीका साख गिर्दै आएको हामीले महसुस गरिरहेका छौं,’ जसपा नेपालका प्रवक्ता मनीष सुमनले भने ।

२०७५ चैत ४ गते तत्कालीन स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन गरेर जनमत पार्टी राख्ने र  जनमतलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयपछि राउतको पार्टी २०७९को स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पहिलोपटक सहभागी भएको थियो। 

प्रदेशमा सात प्रत्यक्ष र ६ समानुपातिक गरी १३ तथा केन्द्रमा एक प्रत्यक्ष र पाँच समानुपातिक गरी ६ जना जनमत पार्टीमा सांसद छन्। निर्वाचनको परिणाम सकिनेबित्तिकै राउतले प्रदेश सरकार र केन्द्र सरकारमा जान लबिङ् थालेका थिए।

पुरै परिणाम नआउँदै उनले सरकारमा जाने घोषणासमेत गरेका थिए। हाल जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने केन्द्र सरकारमा पनि पटक पटक सहभागी भएको छ । सत्तारूढ गठबन्धनमा जनमत पार्टी पनि सहभागी भएको छ।  

पृथक्तावादी आन्दोलन गर्दै आएका सिके राउत सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएको २४ घन्टा नबित्दै मूलधारको राजनीतिमा समाहित भएका थिए।मूलधारको राजनीतिमा आउनुभन्दा ६ वर्षदेखि तराई–मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथक्तावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउतले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २५ गते ११ बुँदे सहमति गर्दै आफू मूलधारको राजनीतिमा आएको घोषणा गरेका थिए।  

उक्त दिन ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतबीच ११ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा गृहमन्त्री थापा र राउतले हस्ताक्षर गरेका थिए।अर्धभूमिगत राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन सहमतिपत्रमा हस्ताक्षरसँगै खुला राजनीतिमा आएको थियो।  

प्रकाशित: ७ कार्तिक २०८१ ०६:३४ बुधबार

#CK #Ckraut