राजनीति

‘भिडबाट न्याय प्रभावित पार्न उद्यत रास्वपा’

सहकारी ठगी आरोपमा प्रकाउ परेका रास्वपा सभापति रवि लामिछानेको समर्थनमा आइतबार पोखरामा नाराबाजी गर्दै रास्वपा कार्यकर्ता। तस्बिर: सन्देश श्रेष्ठ

न्याय भिडले होइन, अदालतले दिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा न्याय अदालतले होइन, भिडबाट प्रभावित पार्न उनका समर्थकहरू उद्यत देखिएका छन्। त्यसको ज्वलन्त उदाहरण पोखरामा भइरहेको छ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि शुक्रबार झिसमिसेमै पोखरा ल्याइएको थियो।

सहकारी पीडितहरूको पूरक जाहेरीका आधारमा पक्राउ परेका उनलाई अनुसन्धान गर्नु प्रहरीको कर्तव्य हो। अनुसन्धान सकिएपछि अदालतमा मुद्दा चल्नु स्वाभाविक प्रक्रिया हो। रवि दोषी हुन् वा निर्दोष ? यसको निरूपण अदालतले गर्छ। त्यसैले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न र अदालतलाई मुद्दा प्रक्रिया सघाउनु वादी र प्रतिवादी दुवैको कर्तव्य हो।

रविका समर्थकहरू भने अनुसन्धान र अदालती प्रक्रियामा सघाउनुको सट्टा भिडबाट न्याय प्रभावित पार्न उद्यत छन्। पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पोखरा ल्याएदेखि नै रास्वपाका कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन्। उनीहरू भिड देखाएर न्याय प्रभावित गर्ने प्रयासमा छन्।

जान्नेलाई छान्ने र पुराना मान्छे र पुरानो तरिकाले हुँदैन भनेर रातदिन फलाक्ने उनीहरू अहिले भिड जम्मा गरेर न्याय प्रभावित गर्ने उही पुरानै दलको शैलीलाई निरन्तरता दिइरहेका छन्। जसको फलस्वरूप आइतबार उनीहरूले प्रशासनले लगाएको निशेधाज्ञा तोडेर प्रदर्शन गर्दा प्रहरीसँग ठेलमठेलको स्थिति बन्दा पोखरा तनावग्रस्त बन्यो। प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहरा र अश्रु ग्यास नै प्रहार गर्नुपर्‍यो।

उसो त सहकारी पीडितहरूले पनि भीडबाटै न्याय मिल्छझैं गरेर प्रदर्शन सुरु गरेका छन्। रविको पक्राउप्रति स्वागत गरेका उनीहरूले प्रशासनको आग्रहलाई स्वीकार गरेर प्रदर्शन नगर्ने भनेका थिए। तर त्यो निर्णय एक दिन पनि टिकेन।

आइतबार बिहान भने उनीहरू प्रदर्शनमा उत्रिने निर्णयमा पुगे। रास्वपा र सहकारी पीडितको प्रदर्शनस्थल एकै ठाउँ सहिद चोक हुँदा आइतबार केहीबेर दुई पक्षबीच झडप हुने त्राससमेत बढेको थियो। तर प्रशासनले तत्काल निशेधाज्ञा जारी गरेपछि सहकारी पीडित आन्दोलनबाट पछि हटे र झडपको स्थिति टर्‍यो।

भन्न त दुवै पक्षले अदालतप्रति अगाध आस्था र विश्वास रहेको बताउने गरेका छन्। अदालतबाटै न्याय पाइन्छ भनेर उनीहरू निरन्तर भनिरहेका पनि छन्। सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेले पटकपटक आफूलाई अदालतप्रति विश्वास रहेको बताएका छन्।

आइतबार म्याद थपका लागि अदालतमा उपस्थित भएकाले यो कुरा पुनः दोहोर्‍याए। तर त्यसो भनेको एक मिनेट पनि नबित्दै उनले न्यायका लागि सडकमा आउन आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गरेर आफूपनि अदालतबाट होइन, भिडबाटै न्याय प्रभावित गर्ने प्रयासमा रहेको पुष्टि गरे।

अदालतप्रति मलाई एकदमै विश्वास छ, त्यसैले त म अनुसन्धान र अदालतलाई सघाउन आएको हुँ भनेका उनले लगत्तै बोली फेर्दै भने, ‘ओली सरकार निर्दोष मान्छे फसाउन लागिपरेको छ। त्यसैले मेरा लागि होइन, देश र जनताका लागि सडकमा आउन म आम पोखरेली र देशवासीमा हार्दिक अपिल गर्छु।’

उसो त रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि अदालतप्रति विश्वास रहेको बताए। तर उनले पनि प्रदर्शन रोक्न आग्रह गरेनन्। बरु उल्टै न्यायका लागि सडकमा आउन कार्यकर्तालाई अपिल गरे। उनले भने, ‘यो देशमा अदालत छ, त्यसले न्याय दिन्छ भन्नेमा हामी विश्वस्त छौं तर निर्दोष फसाउने षडयन्त्रमा यो भ्रष्ट सरकार छ। त्यसैले सडकमा आएर दबाब दिऔं।’

सहकारी पीडितहरूले पनि अदालतले दुधको दुध पानीको पानी छुट्याएर न्याय दिने विश्वास व्यक्त गरेका छन्। लामिछाने पक्राउले मात्रै पनि न्यायको अनुभूति भएको बताएका उनीहरूले अदालतप्रति अगाध आस्था र विश्वास रहेको बताए। तर न्यायका लागि भन्दै प्रदर्शन भने जारी राख्दै भिडबाटै न्याय मिल्छ भन्नेमा रहेको पुष्ट्याइँ गरे।

सूर्य दर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठले आफूहरू भिडबाट न्याय प्रभावित पार्ने पक्षमा नरहेको बताए।

‘हामीलाई अदालतप्रति विश्वास छ,’ उनले भने, ‘तर रविका कार्यकर्ताहरूले दिनहुँ भिड जम्मा गरेर दबाब सिर्जना गर्दा कतै न्याय प्रभावित हुने त होइन भन्ने डर हामीलाई लागेको छ। त्यसैले आफूहरूको इच्छाविपरीत पनि प्रदर्शन गर्न बाध्य भएका छौं।’

निशेधित क्षेत्रमा प्रदर्शन जारी राखेपछि प्रहरीले हान्यो अश्रु ग्यास र पानीको फोहरा। निशेधित क्षेत्र सहिद चोकमा रास्वपाका कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहरा हानेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निशेधित क्षेत्र सहिद चोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहरा हानेको हो।

लामिछानेलाई जिल्ला अदालत, कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका थिए। दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिए पनि बिहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला भएर नाराबाजी सुरु गरेका थिए। अदालत, प्रशासनलगायतका सरकारी कार्यालयनजिकै प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले सहिद चोक र त्यस आसपासका क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गर्दै कफ्यु लागु गर्‍यो। तर प्रदर्शनकारीले सो स्थल छाड्न मानेनन्।

प्रहरी आह्वान र अनुरोधलाई बेवास्ता गर्दै प्रदर्शनकारीले निरन्तर नाराबाजी र प्रदर्शन जारी राखेपछि प्रहरीले हटाउन खोज्दा केही बेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। प्रहरीको आग्रह र सामान्य बल प्रयोगबाट नहटेपछि प्रहरीले भिड नियन्त्रणमा लिन पानीको फोहरा हान्यो। तर त्यति गर्दा पनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले अश्रु ग्यास हानेको हो। त्यसपछि भने उनीहरू ‘रविलाई न्याय दे, निर्दोषलाई फसाउन पाइँदैन, रवि दाइ हाइहाई, असली सहकारी ठगलाई कारबाही गर’ लगायतका नारा लगाउँदै तितरबितर भएका थिए। सहिद चोकमा भिड बढ्नुका साथै दुई पक्षबीच धकेलाधकेलको स्थिति बनेपछि लामिछानेलाई वैकल्पिक बाटोबाट अदालत पुर्‍याइएको थियो।

यसअघि कास्की प्रशासनले जिल्ला प्रशासन कार्यालय र कास्की जिल्ला अदालत रहेको सहिद चोक र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन र त्यस आसपासका क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो। प्रशासनले रास्वपा र सहकारी पीडितले प्रदर्शन गर्ने भनेको स्थल सहिद चोक र त्यस आसपासका क्षेत्रहरू पूर्वतर्फ बाइचोक, पश्चिमतर्फ वैदाम फिस्टेलगेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोक र पर्यटन बोर्डको कार्यालय रहेको ड्यामसाइडसम्मलाई निशेधित क्षेत्र तोकेको हो।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटनको पालिखेचोकदेखि नवीन माविसम्मको क्षेत्रमा निशेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ। ती क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा भई भेला, जुलुस, धर्ना, घेराउ, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निशेध गरिएको जनाइएको छ।

अदालतप्रति विश्वास छ तर ओली प्रधानमन्त्री भएसम्म देशले दुःख पाउँछ-लामिछाने

सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले आफूलाई अदालतप्रति पूर्ण विश्वास रहेको बताएका छन्। म्याद थपका लागि अदालत लैजाने क्रममा अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई अदालतप्रति विश्वास रहेको बताएका हुन्।

आफू अनुसन्धानलाई सघाउन आएको बताउँदै उनले भने, ‘म अनुसन्धानलाई सघाउन, अदालतलाई सघाउन आएको हुँ, अदालतप्रति एकदमै विश्वास छ र अदालतले न्याय दिन्छ भन्ने विश्वास छ।’ सरकारले भने झुटा मुद्दामा फसाउन खोजेको उनले गुनासो गरे। सहकारी ठग र भ्रष्टाचारीलाई संरक्षण गर्ने तर निर्दोषलाई फसाउन ओली सरकार लागेको भन्दै उनले आक्रोश पोखे।

उनले भने, ‘भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी पीडितहरू आफ्ना पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाएका छन्।। निर्दोष मान्छे फसाउने यिनीहरूको नियत नै गलत छ।’

पूर्व गृहमन्त्रीसमेत रहेका उनले ओली सरकार रहेसम्म देशले दुःख पाउने बताए। आफूलाई जस्तै प्रधानमन्त्री ओलीमाथि पनि डेढ वर्ष अनुसन्धान गर्ने हो भने ओली भ्रष्टाचारी साबित हुने उनले दाबी गरे। ‘देशको सबैभन्दा बढी भ्रष्टाचारको जगमा केपी ओली उभिएका छन्,’ उनले भने, ‘यस्तो मान्छे प्रधानमन्त्री हुनु देश र जनताका लागि दुर्भाग्य हो। यो सरकार रहुन्जेल देशले दुःख पाउँछ।’

उनले भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सडकमा आउन जनतामा अपिलसमेत गरेका छन्। ‘जो जो जहाँ जहाँ हुनुहुन्छ, त्यहीँबाट विरोध गर्नुस्। मेरा लागि होइन र देश र जनताका लागि अन्तिम लडाइँका लागि सडकमा आएर विरोध गर्नुस्,’ उनले भने।

प्रकाशित: ५ कार्तिक २०८१ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App