राजनीति

गृहमन्त्री लेखकले सुरु गरे डिजिटल चलान

गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच डिजिटल चिट (ई-चलान) को शुभारम्भ गरेका छन्। साथै उनले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गरे।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

साथै, ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उनले शुभकामना समेत दिए। सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उनले बताए।

गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्नेमा जोड दिए।

सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै उनले त्यसको न्यूनिकरण गर्न सरोकारवाला सबै निकायहरूले आ-आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताए। दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उनले जोड दिए।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ स्वागत योग्य रहेको चर्चा सहित आ-आफ्नो मन्तव्य व्यक्त राखे।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको जानकारी दिए। त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने उनले उल्लेख गरे।

प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताए।

आज शुभारम्भ भएको ई-चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने विश्वास समेत उनले व्यक्त गरे।

प्रकाशित: ४ कार्तिक २०८१ १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App