राजनीति

रवि लामिछाने पक्राउपछि भिडको राजनीतिमा रास्वपा

आन्दोलित रास्वपा, मौन ठूला दल, अन्यौलमा विपक्षी

<br>

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रोशित देखिएको छ। एक मुखले राज्यको अनुसन्धान प्रक्रियालाई सघाउने वाचा गरिरहेका रास्वपाका नेता–कार्यकर्ता अर्को मुखले आक्रोशित वाणी बोलिरहेका छन्।

शुक्रबार साँझ लामिछाने पक्राउ परेदेखि नै रास्वपाका नेता–कार्यकर्ता आक्रोशित देखिएका हुन्। प्रहरीले राति लामिछानेलाई पोखरा लैजाँदा बाटैभरि अधिकांश ठाउँमा रास्वपाका कार्यकर्ताले प्रदर्शन र नाराबाजी गरिरहे। बिहान करिब ३ बजे रास्वपा सभापति लामिछानेलाई पोखरामा पुर्‍याइएको थियो। त्यहाँ उनका समर्थक कुरेर बसेको तस्बिरमा देखिएको छ। प्रहरीले लामिछानेलाई बोकेका गाडीकै पछिपछि रास्वपाका अन्य शीर्ष नेता पनि पोखरा पुगेका थिए। उनीहरूले बिहानै पार्टी कार्यकर्ता बोलाएर प्रदर्शन थालेका थिए। प्रदर्शनमा रास्वपाका नेता हिंसात्मक अभिव्यक्ति दिनसमेत पछि परेनन्। सबैभन्दा बढी रास्वपाका सहप्रवक्ता मनीष झा आक्रोशित सुनिए। ‘रवि दाइ मर्न तयार हो भने म पनि मर्न तयार छु,’ पोखरामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘यिनीहरूलाई रगत चाहिएको हो ? रगत दिन तयार छौं। सहिद चाहिएको हो ? यो दलको सहिद छैन भन्या होइन। म सहिद बन्न तयार छु।’

रास्वपाको सर्वत्र प्रदर्शन

अनुसन्धानमा सघाउने अभिव्यक्ति दिँदै आएपछि रास्वपाले आफ्ना सभापति लामिछानेमाथि लागेको सहकारी ठगीको आरोप स्वीकार गरेको छैन। उसले सरकारले आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरिरहेको छ। स्वयं सभापति लामिछानेले नै पक्राउअघि आफूमाथि राजनीतिक प्रतिशोध साँध्न लागिएको भन्दै भिडियो सामग्री बनाएको र पक्राउपछि सार्वजनिक गर्न लगाएका थिए। उनी पहिल्यैदेखि आफूलाई पक्राउ गरे प्रतिवाद गर्न समर्थकलाई आह्वान गर्दै आएका थिए। सभापति लामिछानेको आह्वानअनुसार नै बाँकी शीर्ष नेताले पनि कार्यकर्तालाई सरकारको प्रतिवादमा उत्रन आह्वान गरेका छन्। यसैक्रममा शुक्रबार बिहानैदेखि पोखरा, काठमाडौंलगायत देशका अधिकांश जिल्ला–सहरमा प्रदर्शन भए।

लामिछानेकै भाषामा ‘सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो’, ‘राजनीतिक प्रतिशोध बन्द गर्’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन, अन्याय सहेर जनता चुप बस्दैनौं’, ‘भ्रष्ट सरकार ओइ ओइ, ८७ खर्ब खोइ–खोइ’, ‘दुई तिहाइको पाराले दुःख पायो साराले’, ‘भाटभटेनी सरकार मुर्दावाद’, ‘कसैको राजनीति बचाउन, जनताको राजनीति सकाउन पाइँदैन’, ‘दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने’ लगायत नारासहित रास्वपाका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए।

निसानामा गगन

लामिछाने पक्राउको विरोधमा उत्रिएका रास्वपाका नेता–कार्यकर्ता सबैभन्दा बढी कांग्रेस महामन्त्री गगन थापाविरुद्ध आक्रोशित देखिएका छन्। कांग्रेस प्रतिपक्षमा हुँदा तत्कालीन गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतले जोडतोडका साथ आवाज उठाएका थिए। गगनले सभापति लामिछाने निर्दोष देखिए राजनीति नगर्ने बताएका थिए। सोही कारण सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिको सिफारिसका आधारमा लामिछानेपक्राउ परेपछि रास्वपा गगनप्रति उग्र देखिएको हो।

यही कारण रास्वपाले ‘कसैको राजनीति बचाउन कसैको राजनीति सक्ने’ भन्दै गगन लक्षित गरेर नारा लगाइरहेको छ। रास्वपा सहप्रवक्ता झा एक कदम अघि बढेर पोखरामा गगनमाथि खनिए। ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा ऊ आत्तियो र ओलीको संगतमा मात्तियो। तिमीलाई धन्यवाद छ, गगन थापा। तिमी पनि नांगियौं,’ झाले आक्रोश पोखे। रास्वपा उपसभापति स्वर्णिम वाग्ले पनि गगनमाथि सांकेतिक रूपमा खनिए। उनले गगनलाई लक्षित गर्दै ‘कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको’ आरोप लगाए।

गगनबाहेक सहकारी ठगी प्रकरणमै नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलमाथि पनि रास्वपा खनिएको छ। प्रदर्शनमा दुवै जनाको फोटोसहितको ब्यानर राखेर वास्तविक सहकारी ठग भन्दै आक्रोश पोखिएको छ। यस्तै एमालेको केन्द्रीय कार्यालयका लागि जग्गा दान दिएका व्यवसायी मीनबहादुर गुरुङविरुद्ध पनि रास्वपाले सडकमा आक्रोश पोखिरहेको छ। सरकारलाई भाटभटेनी सरकार भन्दै उनको नाम जोडिरहेका छन्।

सबै नेताको एक स्वर

सभापति पक्राउ पर्दा पोखरामा प्रदर्शन गर्न पुगेका रास्वपाका सबैजसो पदाधिकारीले एक स्वरमा सरकार र सरकारका सहयात्री दल कांग्रेस र एमालेविरुद्ध आक्रोश पोखे। सबैजसो नेताले संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्बको अपचलन भएको देखाएको भन्दै गोर्खा मिडियामा आएको ६५ करोड ५४ लाख आफ्ना सभापति लामिछानेले खर्च गरेको रकममा मात्र सरकार केन्द्रित रहेको भन्दै लामिछानेको बचाउ गरिरहे।

उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको अभियानलाई रोेक्न सभापति लामिछानेमाथि अप्रत्यासित षड्यन्त्र गरिएको बताए। उनले भने, ‘हामीले रवि लामिछाने एक जनाका लागि मागेका होइनौं। म आग्रह गर्छु, हामीले केही गर्न थालेको अभियानलाई रोक्न रविमाथि अप्रत्यासित ढंगले पक्राउ गरिरहेको छ।’ आगामी चुनावको डरले तर्सिएर दुई तिहाइ सरकारको दम्भ देखाएको उनको आरोप थियो। अर्का उपसभापति वाग्लेले सरकारले कुशासनको अभ्यास गरिरहेको दाबी गर्दै त्यसबाट ध्यान भड्काउन आफ्ना सभापति लामिछाने पक्राउ गरेको आरोप लगाए। सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउन लामिछानेलाई पक्राउ उनको आरोप थियो। यसबाहेक वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्मा रहेकोसम्म भन्न भ्याए। आफूहरूसँग डराएकाले लामिछानेलाई पक्राउ गरिएको दाबी गर्दै उनले भने, ‘अहिले उनीहरू डराएका छन्। जम्मा २० जना यी कलिला सांसदले हैरान पारेका छन् भने ८४ मा यस्ता १४० जना सांसद लिएर आए यिनीहरूको हालत के हुन्छ ?’

रास्वपा सांसद विराजभक्त श्रेष्ठ भने केही फरक सुनिए। उनले अरू दलले जस्तो ढंगा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने बताए। उनले वास्तविक सहकारी पीडितको आन्दोलनको नेतृत्व आफूहरू गर्ने दाबी गरे।

यती आक्रोश पोखिरहे पनि रास्वपा नेताहरूले आफूहरूले अनुसन्धानलाई सघाउने र न्यायालयप्रति विश्वास रहेको पनि भनिरहेकै छन्। ‘मैले भर्खरै पार्टी सभापतिलाई भेटेर आएको छु। उहाँ निर्धक्क हुनुहुन्छ,’ पोखराको सभामा बोल्दै उपसभापति अर्यालले भने, ‘हामीलाई न्यायालयप्रति विश्वास छ। हामीले सघाउने हो। यो देशमा सरकार मरिसक्यो, न्यायालय मरेको छैन। न्यायालयले रवि लामिछाने होइन, एउटा अभियानलाई बचाउनेछ।’

अर्कातिर सहप्रवक्ता झा भने सरकारले आफूहरूसँग प्रतिशोध साँध्न अदालतको पनि प्रयोग गरेको बताउँछन्। ‘अदालतमा पनि पार्टीमा मान्छे छन्, नत्र सातजनामा त्यही न्यायाधिश कसरी पर्छ,’ उनले भनेका थिए, ‘अदालत नांगियो भने हामी न्याय खोज्न कहाँ जाने ? उहाँहरूले राजनीतिक प्रतिशोध कुण्ठाका लागि अदालतको पनि प्रयोग गर्दै हुनुहुन्छ।’

विपक्षी दलको मिलेन साथ  

रवि लामिछानेले आफू पक्राउ पर्नुअगावै विपक्षी दलहरूको साथ खोजेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोग पाउनेमा उनी आशावादी थिए। दाहालले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न बसेको ठुला तीन दलका शीर्ष नेताको बैठकमा समेत लामिछाने पक्राउबारे चासो राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कानुनअनुसार हुने’ जवाफ दिएपछि दाहालले लामिछाने पक्राउ पर्ने संकेत गरेका थिए। यो सूचना लामिछानेलगायत विपक्षी दलमा दाहालले चुहाएका थिए। शुक्रबार बिहान बसेको विपक्षी दलको बैठकमा रास्वपाका नेता दलबलसहित समर्थन जुटाउन पुगेका थिए। त्यहाँ राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिए प्रतिवाद गर्ने साझा धारणा बनेको थियो।

दाहालले सूचना दिएपछि लामिछाने आफू पक्राउ पर्नेमा निश्चित भएका थिए। सोही कारण उनले शुक्रबार दिउँसो नै भिडियो सामग्री बनाएर पार्टी कार्यालयमा कार्यकर्ता र समर्थकलाई बोलाउने तयारी थालेका थिए। तर परिस्थिति झन् प्रतिकूल हुने देखेपछि उनले सहजै पक्राउ दिए। लामिछाने पक्राउ परिसकेपछि रास्वपाका कार्यकर्ता सडकमा ओर्लिंदा जनमत पार्टीका अध्यक्ष सिके राउतले मात्र फेसबुक स्टाटसमार्फत पक्राउको विरोध गरेका छन्। अन्य अन्य विपक्षी दलले मुखसम्म खोलेका छैनन्। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता दाहाल शनिबार एक औपचारिक कार्यक्रममा उपस्थित भएर भाषण गर्दा यो प्रसंग नै निकालेनन्। लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको आफ्नो गृहजिल्ला चितवन पुगेर दाहालले बेपत्ता माओवादी योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। त्यहाँ २३ मिनेट भाषण गरेका दाहालले राष्ट्रिय राजनीतिका केही विषयमा पनि आंशिक रूपमा मुख खोले तर रास्वपा सभापति लामिछाने पक्राउको प्रसंगमा उनी प्रवेश नै गरेनन्।

रोल्पा पुगेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले घुमाउरो पारामा सहकारी ठगीको विषय उठाए पनि लामिछाने पक्राउको विषयमा फरक मत राखेनन्। बरु उनले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरे। नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालले पनि लामिछाने पक्राउको विरोधमा औपचारिक रूपमा मुख खोलेका छैनन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने लामिछानेप्रति सहानुभूतिको भाषा बोलेका छन्। पोखरामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले भने, ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ। उहाँको राम्रो होस् भन्ने कामना गर्छु।’ लामिछानेले आफूमाथि लागेको आरोपमा सत्यता नभए पनि प्रक्रिया निरूपणमा सघाउँछु भनेर बोलेकाले उनीप्रति आफ्नो ‘पूर्ण सहानुभूति’ रहेको भट्टराईले बताए।

सत्ता पक्षमा रहेका कांग्रेसका नेताहरूले पनि लामिछाने पक्राउको विषयमा मुख खोलेका छैनन्। तर एमालेका नेताहरू भने लामिछाने कानुनबमोजिम पक्राउ परेकाले अनुसन्धान प्रभावित हुनेगरी गतिविधि गर्न नहुने प्रतिक्रिया दिएका छन्। विशेषगरी एमाले महासचिव शंकर पोखरेल, नेताहरू विष्णु रिजाल र सूर्य थापाले सामाजिक सञ्जालमा यसबारे अभिव्यक्ति दिएका छन्।

संसदीय छानबिन समितिका संयोजकसमेत रहेका सांसद थापाले त खरो प्रतिवाद गरेका छन्। ‘क्लिन चिट र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ– प्रतिशोध !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। त्यो पनि ‘सुपर फ्लप’ हुने बाटोमा रहेको भन्दै थापाले प्रतीक्षा गर्न आह्वान गरेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App