राजनीति

एउटै मन्चबाट प्रचण्ड-विप्लवले भने: ‘पार्टी एकता गरेरै छाड्छाैं’

<br>

<br>

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीहरूलाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताएका छन्।

चितवनको भरतपुर महानगरपालिका भरतपुर–१३ मा शनिबार बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जन सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले छरिएर रहेका माओवादी पार्टीहरुको एकता चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो,’ प्रचण्डले भने ‘माओवादी एकताको संकेत गर्दै भने अहिले त्यो विन्दुमा पुगेका छौं। एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध भएर जान्छौं।’

उनले ०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताए।

‘विप्लवजीको होस या अरु पनि माओवादी आन्दोलनबाट अलग भएका धाराहरू हामी एउटै स्कुलबाट, एउटै मूल प्रवाहबाट प्रवाहित भएका भंगालोहरू हौं। हामी सबै एकै ठाउँमा केन्द्रित हुनैपर्छ। इतिहासले, विज्ञानको नियमले पनि के भन्छ भने एउटै स्कुल र मूल प्रवाहबाट जन्मेका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि ती एकताबद्ध हुन्छन्,’ उनले भने ‘गणतन्त्र मार्फत ल्याइएका परिवर्तनहरु उल्ट्याउने कसरत भइरहेको छ सबै मिलेर त्यसको प्रतिरोध गर्नुपर्छ।’ उनले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख समेत गरे।

पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने उल्लेख समेत गरे।

आगामी निर्वाचन २०६४ साल दोहोरिन्छ: विप्लव

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भई आगामी निर्वाचन २०६४ साल दोहोरिने दाबी गरेका छन्।

जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्न सक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए।

‘आजको दिनमा हामीले बुझ्ने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन, यो एकताबद्ध हुन्छ। यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ। हामीले राम्रोसँग बुझ्नुपर्दछ। २०५२ साल त अहिले नभनौं, तर २०६४ साल जन्मिन्छ नेपालमा’–उनले भने।

उनले राज्यको नेतृत्व गरेकाहरुले बेपत्ता योद्धाको बारेमा बोल्नुपर्ने बताए। उनले २०४७ सालमा फर्किने दुष्साह नगर्न समेत चेतावनी दिएका छन्।

महासचिव चन्दले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै नयाँ खुलेका दलले देशलाई भुलभुलैयामा पार्न खोजेको आरोप लगाए।

‘रातारात उम्रेका पार्टीले भुलभुलैमा जनतालाई पारेका छन्,’ उनले भने ‘युवाहरू अहिले खुसी छैनन्। त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो हो। माओवादीले पनि एक पटक नेतृत्व पाउनुपर्छ।’ देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने उनको भनाइ थियो।

माओवादी आन्दोलनबाट अलग भएर गठित पार्टीहरू एकताबद्ध भएर आगामी निर्वाचनमा जानुपर्ने चन्दको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताइन्। उनले माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने धारणा राखिन।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ‘ठूलो छाती’ गरेर कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन्। उनले सबै कम्युनिष्ट नेताहरूसँग छलफलमा रहेको भन्दै माओवादी शक्ति संगठित गरेर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए।

प्रकाशित: ३ कार्तिक २०८१ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App