राजनीति

नेपका एसले विद्रोहको औचित्य पुष्टि गर्न सकेन, एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र

नेकपा (एकीकृत समाजवादी) का नेता वंशीधर मिश्रले पार्टीलाई नेकपा (एमाले) सँग एकीकरण गर्नुपर्ने बताएका छन्।

एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन।

उनले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिए। उनले तत्कालीन पार्टी (एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनैपनि त्रुटि, कमी, कमजोरी र असन्तुष्टिहरू नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए।

उनले पार्टीको दशौं महाधिवेशनको म्याण्डेड विपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरूको असन्तुष्टि रहेको सुनाए।

उनले पार्टी विधान र महाधिवेशनको म्याण्डेड विपरीत पदाधिकारी र पोलिटब्युरो चयन हुनु त्रुटिपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्नेमा जोड दिए।

पार्टीभित्र दुई पक्ष हाबी भएको भन्दै उनले पार्टी सङ्कटमा रहेको जिकिर गरे। नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको उल्लेख गरे।

उनले हैसियत विहीन मानिसहरू पदाधिकारी र केन्द्रीय कमिटीमा आउँदा आवश्यक मानिसहरू भने छुटेको स्मरण गरे। 

उनका अनुसार पार्टीलाई सुधार गर्न छलफलहरू चलिरहेको छ। आफूहरूले सिङ्गो पार्टीको नै एकता गर्न चाहेको भए पनि पार्टीको शीर्ष नेताहरूका बिचमा कुरा नमिलेको उनले धारण राखे।

"सिङ्गो पार्टीलाई एमालेसँग एकता गराउन नसकिए शीर्ष नेताहरू बाहेकको समूह एमालेमा प्रवेश गर्नेछन्, पार्टी एकीकरणको लागि राजनैतिक दल सम्बन्धीको अध्यादेश आए सजिलो हुन्छ।" मिश्रले भने।

एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुवीकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ।

राजनैतिक दल सम्बन्धीको अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुनेमा उनले जोड दिए।

प्रकाशित: ३ कार्तिक २०८१ १८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App