राजनीति

पश्चिम सुर्खेतको विकास र समृद्धिमा निरन्तर क्रियाशील छु : खड्का

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको पश्चिम क्षेत्रको विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताएका छन्। उनले पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गलाई पूर्णता दिन आफू निरन्तर लागिपरहेको बताए।

‘यहाँको विकास र समृद्धिका लागि बड्डीचौरदेखि सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोड्ने मदन भण्डारी राजमार्ग समयमै पूरा हुन आवश्यक छ’, पञ्चपुरीमा बाबियाचौर स्पोर्ट्स क्लबले आयोजना गरेको पाँचौं बाबियाचौर च्यालेन्ज कपको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भने, ‘मदन भण्डारी राजमार्गलाई समयमै सम्पन्न गर्नका लागि म निरन्तर लागिरहेको छु।’

मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडकको १३.१ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ। यस्तै खम्बागाडे–विद्यापुर १०.३ किलोमिटर र विद्यापुर–गुटु–बिजौरा–बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ।

यस्तै बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ भने लगाम–धनरास–धामीसैन–पाल्पाघाटसम्मको करिब २५ किलोमिटरमध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ।

पश्चिम खण्डमा निर्माण भइरहेका सडक खण्डको अनुगमनपछि उपसभापति खड्काले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए। ‘सडक निर्माण सम्पन्न नहुँदासम्म पटक–पटक यो क्षेत्रमा आएर निरन्तर अनुगमन गर्ने छु, देखिएका नीतिगत र प्राविधिक समस्या समाधानमा लाग्ने छु’, उनले भने, ‘मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतको विकासको मेरुदण्ड हो, समयमै सम्पन्न गर्न सम्पूर्ण रुपमा लाग्ने छु।’

उनले बड्डीचौर–खम्बागाडे सडक खण्डमा पर्ने रुखहरू कटान प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। ‘रूख कटानी र सडक कसले बनाउने विषयमा केही समस्या देखियो, अहिले त्यसको पनि समाधान भइसकेको छ’, उनले भने, ‘चाँडै यो सडक निर्माणले पनि गति लिन्छ।’

उपसभापति खड्काले पश्चिम सुर्खेतमा प्रदेशको प्रहरी तालिम केन्द्र स्थापना प्रक्रियामा रहेको बताउँदै मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म यसमा आफूले ठोस प्रतिक्रिया नदिने बताए। उनले आफू सधैं जनताको काम र विकासप्रति उत्तरदायी रहेको बताउँदै आफ्नो नाम जोडेर कसैलाई राजनीति नगर्नसमेत आग्रह गरे। उनले केही समयमै पश्चिम सुर्खेतको केन्द्र बाबियाचौरबाट मालपोत तथा नापी कार्यालय स्थापना गरेर सेवा प्रवाह हुने पनि बताए।

प्रकाशित: ३ कार्तिक २०८१ १२:४३ शनिबार

#Development and prosperity of West Surkhet