राजनीति

नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच जेनेभामा भेटवार्ता

अन्तर(व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार भेटवार्ता भएको हो।

भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको थियो।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल(चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताएका थिए । दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालको भनाइ थियो ।  

सन् २०२२ मा चिनियाँ जनकङ्ग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसदको सहकार्यले एक अर्काका अनुभव आदान प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताए ।  

नेपालको विकासमा चीनको सहयोग रहँदै आएको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अझैं सहयोगको मात्रा बढ्ने आफूहरुले विश्वास लिएको बताए । उनले भने, “नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्य लिएको छ। यस लक्ष्यलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन मित्र राष्ट्रहरुको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको छ। यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीलाई विश्वास छ।”

दुई देशबीच आपसी हितका विषयहरुमा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको बताए । 

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस र नेपालको संसदसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए। दुई देशका संसदबीचको सहकार्य, भ्रमण आदान प्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने उनको भनाइ थियो ।  

चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष थ्यानले बिआरआईमार्फत् सडक, रेल्वे लगायतका पूर्वाधार विकासका योजनाहरुमा सहयोग गर्न चाहेको बताए ।  

भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २९ आश्विन २०८१ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App