राजनीति

दाहालको दृष्टिमा संकटै संकटमा देश

राजधानीमा बुधबार भएको सम्पादकहरूसँगको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (बिचमा)।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले मुलुकका बहुआयामिक संकटबारे चर्चा गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण, दुई ठुला दल कांग्रेस र एमाले गठबन्धन सरकार र हालै मुलुकमा आएको बाढीपहिरो लगायतलाई उनले संकटकै अभिव्यक्तिका रूपमा चित्रण गरेका छन्।

दाहालले बिहीबार राजधानीमा सम्पादकहरूसँगको कुराकानीका क्रममा मुलुक बाढीपहिरोको संकटमा परेका बेला आन्तरिक राजनीतिबारे धेरै जान नचाहेको बताए।  यसो भन्दाभन्दै पहिलो (नेपाली कांग्रेस) र दोस्रो (नेकपा एमाले) दल मिलेर सरकार बनाउनु नै वर्तमानमा संकटको चुरो रहेको टिप्पणी गरे।

संविधान संशोधनलाई उद्देश्य बनाएर अहिले दुई दलले सरकार बनाएको प्रसंग चर्चा गर्दै आफू प्रधानमन्त्री रहेका बेला यो विषयमा कुराकानी गर्न मिल्ने भए पनि नबताइएको उल्लेख गरे। ‘म सरकारमै हुँदा संविधान संशोधनबारे बताउन मिल्दैनथ्यो र ?’ उनको प्रश्न थियो, ‘यो विषय लुकाउनुपर्ने, लुक्नु र्ने हुँदैनथ्यो।  कुरो त छ्यांगै छ नि।  संकट छ भन्ने यसैले देखाएको छ।’

संसद्का दुई ठुला दल मिलेर सरकार बन्ने अभ्यास अस्वाभाविक भएको उनको बुझाइ छ। ‘संसदीय लोकतन्त्रमा सरकार यसरी बन्दैन,’ उनले भने, ‘यति धेरै ढाँटछलबाट सरकार बन्दैन, अहिलेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन, यो बहाना मात्र हो।’ आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध सक्रिय हुन थालेपछि रोक्न नयाँ सरकारको पहल भएको आरोप पनि उनले दोहो¥याए।

संविधान संशोधनको संकट

संविधानप्रति एमालेको नकारात्मक रवैया रहेको उनले बताए।  ‘एमाले नेतृत्वकै साथीहरूलाई यो संविधान घाँडो भएको छ,’ उनले भने, ‘सुरुदेखि नै उहाँहरूलाई यो मन परेको छैन। संविधानमा सुरुदेखि उहाँहरूले माओवादीको अनुहार देख्नु भएको छ।’

एमालेको चाहना संविधान संशोधनभन्दा पनि खारेजी रहेको उनले बताए।  हिजो दुई पटक प्रतिनिधिसभा विघटन हुनु पनि संसद् नभई संविधान विघटनको उद्देश्य रहेको दाहालले उल्लेख गरे। ‘उहाँहरूलाई यो संविधान मन परेको छैन।  समावेशी पनि मन परेको छैन। संघीयता मन पर्ने कुरै भएन,’ दाहालले भने।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनआन्दोलन २०६२/६३ मा दिएको अभिव्यक्ति उल्लेख गर्दै भने, ‘ठेलागाडा सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको भित्रभित्रै मन परेको छैन, उहाँहरूको लक्ष्यचाहिँ अर्कै हो।

संविधान संशोधनलाई बहाना बनाएर अन्य काम गर्न खोजे त्यसले झनै संकट गहिरिने दाहालले बताए। अहिलेसम्म प्रदेशलाई अधिकार नदिइएको, निजामती र प्रहरी ऐन नबनाइएको पक्षलाई समेत उनले संघीयता कार्यान्वयन गर्ने इच्छा वर्तमान सरकारमा नरहेको तर्फ उनले संकेत गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारविरुद्ध सक्रिय भएको थाहा पाएपछि ‘प्रधानमन्त्री नै चाहिएको भए छाडिदिने’ बताउँदा पनि त्यस्तो नभएको अभिव्यक्ति दिएको दाहालले बताए।

कांग्रेससँग सरकार बनाउने सम्झौता गरिसकेपछि पनि ‘स्वर्गनर्क सँगै जाने’ भनेर आफूलाई भनेकामा उनले आश्चर्य प्रकट गरे।  ‘उहाँहरूको कुरा भइरहेको छ, कहाँकहाँ कुरा भइरहेको छ भन्ने पनि सूचना छ,’ दाहालले भने, ‘कांग्रेसजस्तो फटाहा पार्टी, दलाल पार्टीसँग कहाँ जान्छु र? पनि भन्नुभयो।’

अहिले संविधान संशोधनभन्दा पनि यसको इमानदारीपूर्ण कार्यान्वयन आवश्यक रहेको उनले बताए। अहिलेको संविधान बृहत् शान्तिसम्झौताकै अंग रहेको उल्लेख गर्दै यसलाई बिर्सन खोजे संकट अवश्यम्भावी रहेको उनले बताए।

भौगोलिक चुनौती

दाहालले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको टिप्पणी गर्दै विज्ञहरूले तेस्रो विश्वयुद्ध सुरु भइसकेको वा हुन लागेको भनी टिप्पणी गरेको समेत बताए।  दक्षिण एसियामा सरकार भत्किनु र बन्नु पछाडि पनि अन्तर्राष्ट्रिय कारणहरू रहेको टिप्पणी उनको थियो।

नेपालको परिस्थिति भूराजनीतिक कारणले मात्र होइन, भौगोलिक कारणले पनि अप्ठ्यारोमा रहेको उनले बताए। पानीको मौसममा बाढीपहिरो, अरू बेला खडेरी र डढेलोजस्ता समस्याको सामना गर्नुपरेका कारण पनि यसलाई विचार गरी राज्यका नीति बन्नुपर्ने राय उनको थियो।

विकासमा नाममा देशको भौगोलिक अवस्थाको अध्ययन नगरी अघि बढ्दा अहिलेको संकट आएको उनले उल्लेख गरे। यही असोज १० र ११ गते आएको भारी वर्षा र बाढीपहिरोको कहरपछि यहाँ भइरहेको गिटीबालुवा उत्खनन आदि पक्षसँग पनि विचार गरी अध्ययन गर्नुपर्ने राय उनको थियो।

‘प्राकृतिक स्रोतको परिचालनमा पनि व्यापक छलफल गर्न र जनमत बढाउन आवश्यक देखिएको छ,’ दाहालले भने।

हालैको बाढीपहिरो सामना गर्न राज्यको तयार नपुगेको टिप्पणी उनले गरे।  मौसम विज्ञान विभागले भविष्यवाणी गरेपछि आफूले त्यसको तयारीका निम्ति आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेको उल्लेख गर्दै त्यसमा सरकारको ध्यान नपुगेकोमा आलोचना गरे। तर, संकटका बेला सबै मिलेर समस्या समाधान गर्ने यहाँको परम्परा रहेको उनको भनाइ थियो।

२०७२ साल वैशाखमा भूकम्प गएपछि समस्यामा परेका जनतालाई संविधान निर्माणका निम्ति सबै दल अग्रसर भएर शोकलाई शक्तिमा बदलेको इतिहास सम्झाउँदै उनले अहिलेको परिस्थितिमा पनि मिलेर अगाडि बढ्न सकिने बताए।

वर्तमान सरकार संविधान संशोधन गर्ने उद्देश्यका साथ बनेको भने पनि यथार्थ त्यस्तो नभएको टिप्पणी गर्दै आफू त्यसका निम्ति तयार भएको बताए। अघिल्ला दुई संविधान संशोधनमा आफैं प्रस्तावक रहेको इतिहास पनि उनले सम्झाए। आफूले संविधान संशोधनका निम्ति पहल नगरेको भए मधेसी दललाई राजनीतिमा सहभागी गराउन सम्भव नरहेको दाबी गरे।

वर्तमान ओली नेतृत्वको कांग्रेस एमाले सरकार ढाल्ने आफ्नो सक्रियता र क्रियाशीलता नरहेको पनि उनले बताए।  आगामी निर्वाचन एक्लै लड्नेतर्फ पनि दलभित्र कुराकानी भइरहेको खुलासा उनको थियो। अहिले सरकार यताउता बनाउनेभन्दा पनि ठुलै जिम्मेवारी आफूमाथि आएको अनुभव भइरहेको पनि उनको दाबी थियो।

नेपाल बंगलादेश बन्ने संकट आफूले नेपाल बंगलादेश बन्छ नभनेको बताए। आफू विराटनगर पुगेका बेला सरकारले दुई तिहाईको दम्भ नदेखाओस्, बरु बंगलादेशबाट सिक्नुपर्छ मात्र भनेको उल्लेख गरे। ‘अहिले भर्खरै कसैले नेपाललाई बंगलादेश बनाउन खोजेर पनि सम्भव छैन,’ उनले भने, ‘सरकारले ज्यादै अहंकार गर्‍यो भने केही भन्न सकिँदैन।’

काठमाडौंका मेयर बालेन्द्र (बालेन) साह, धरानका मेयर हर्क साम्पाङ, राष्ट्रिय स्वतन्त्र पार्टी आदिजस्ता नयाँ शक्ति आउनु लोकतन्त्रको हितमा छैन भन्न नमिल्ने पनि दाहालको धारणा थियो। जनतामा पुराना दलका कमजोरीको असन्तुष्टिका कारण उनीहरू आएका हुन् भनेर तिनलाई स्वीकार गर्नुपर्ने उनको धारणा थियो।  

‘सयौं फूलहरूलाई फुल्न दिऔं’ भन्दै दाहालले उनीहरूलाई नयाँ फूलका रूपमा जगेर्ना गर्नुपर्ने बताए।  ‘मैले उहाँहरूविरुद्ध नकारात्मक टिप्पणी पनि गरेको छैन,’ दाहालले भने, ‘रवि (लामिछाने) जीलाई मैले बचाएको भन्ने छ, त्यो पनि होइन।’  

सहकारी ठगीको कुरा आएपछि प्रधानमन्त्रीका रूपमा आफूले तीनै सुरक्षा अंगका प्रमुखसँग छलफल गर्दा कैफियत नदेखिएको भनेपछि त्यही कुरा आफूले संसद्मा बताएको उल्लेख गरे। त्यस बेला रवि आफैंले छानविन गर्न आग्रह गर्दा एमालेले नमानेको पछि संसदीय समिति बनाउन एमाले नै तयार भएको पनि उनको दाबी थियो। ‘यही संविधानअन्तर्गत आएका नयाँ शक्तिलाई अपमानित गर्न हुँदैन,’ दाहालले भने।

पूर्वराजा सिर्जित संकट मुलुकका विभिन्न समस्यामाथि चर्चा गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमणलाई ‘आन्तरिक राजनीतिक संकटकै अभिव्यक्ति’ को रूपमा चित्रण गरेका छन्। ‘यो पनि आन्तरिक राजनीतिक संकटकै अभिव्यक्ति हो,’ पूर्व प्रधानमन्त्री दाहालले बिहीबार बिहान सम्पादकहरूसँगको कुराकानीका क्रममा भने, ‘त्यहाँ जुन किसिमको स्वागत भयो, त्यो आन्तरिक संकटकै निरन्तरता हो।’

पूर्वराजा ज्ञानेन्द्रलाई भुटानमा गरिएको स्वागत सत्कारका सम्बन्धमा यस्तो टिप्पणी गरे पनि दाहालले नेपालमा राजतन्त्रको पुनरावृत्तिको सम्भावनालाई भने इनकार गरे। ‘कतैबाट हेर्दा पनि राजा आउनसक्ने सम्भावना छैन,’ उनले भने, ‘गणतन्त्रबाट राजतन्त्रमा फर्किन सम्भव छैन। तैपनि यसलायु संकटकै अभिव्यक्तिका रूपमा भने लिने गरेको हुँ।’

प्रकाशित: २४ आश्विन २०८१ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App