राजनीति

ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणलाई ‘आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति’ का रूपमा चित्रण गरेका छन् । 

‘यो पनि आन्तरिक राजनीतिक संकटकै अभिव्यक्ति हो,’ पूर्व प्रधानमन्त्री दाहालले बिहीबार बिहान सम्पादकहरूसँगको कुराकानीका क्रममा भने, ‘त्यहाँ जुन किसिमको स्वागत भयो, त्यो आन्तरिक संकटकै निरन्तरता हो ।’

पूर्व राजा ज्ञानेन्द्रलाई भुटानमा गरिएको स्वागत सत्कारका सम्बन्धमा यस्तो टिप्पणी गरे पनि दाहालले नेपालमा राजतन्त्रको पुनरावृत्तिको सम्भावनालाई भने इन्कार गरे । ‘कतैबाट हेर्दा पनि राजा आउन सक्ने सम्भावना छैन,’ उनले भने, ‘गणतन्त्रबाट राजतन्त्रमा फर्किन सम्भव छैन । तैपनि यसलाई संकटकै अभिव्यक्तिका रूपमा भने लिएको हुँ ।’

भौगोलिक चुनौती

दाहालले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको टिप्पणी गर्दै विज्ञहरूले तेस्रो विश्वयुद्ध सुरु भइसकेको वा हुन लागेको भनी टिप्पणी गरेको समेत बताए । दक्षिण एसियामा सरकार भत्किने र बन्ने गर्नुपछाडि पनि अन्तर्राष्ट्रिय कारणहरू रहेको टिप्पणी उनको थियो । 

नेपालको परिस्थिति भूराजनीतिक कारणले मात्र होइन भौगोलिक परिस्थितिका कारण पनि अप्ठ्यारोमा रहेको उनले बताए । पानीको मौसममा बाढी पहिरो, अरू बेला खडेरी र डढेलोजस्ता समस्याको सामना गर्नुपरेका कारण पनि यसलाई विचार गरी राज्यका नीति बन्नु पर्ने राय दाहालको थियो । 

विकासमा नाममा देशको भौगोलिक अवस्थाको अध्ययन नगरी अघि बढ्दा अहिलेको संकट आएको अध्यक्ष दाहालले उल्लेख गरे । यही असोज १० र ११ गते आएको भारी वर्षा र बाढी पहिरोको कहर पछाडि यहाँ भइरहेको गिट्टी बालुवा उत्खनन लगायतका पक्षसँग पनि जोडेर हेरी अध्ययन गर्नुपर्ने राय दाहालको देखिन्छ । 

‘प्राकृतिक स्रोतको परिचालनमा पनि व्यापक छलफल गर्नु र जनमत बनाउनु आवश्यक देखिएको छ,’ दाहालले भने । 

हालैको बाढी पहिरो सामना गर्न राज्यको तयारी नपुगेको टिप्पणी पनि दाहालले गरे । मौसम विज्ञान विभागले भविष्यवाणी गरेपछि आफूले त्यसको तयारीका निम्ति आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेको उल्लेख गर्दै त्यसमा सरकारको ध्यान नपुगेकोमा आलोचना गरे । 

तर, संकटका बेला सबै मिलेर समस्या समाधान गर्ने यहाँको परम्परा रहेकोतर्फ आफू जानकार रहेको पनि दाहालले बताए ।  २०७२ साल वैशाखमा भूकम्प गएपछि समस्यामा परेका जनतालाई संविधान निर्माणका निम्ति सदै दल अग्रसर भएर शोकलाई शक्तिमा बदलेको इतिहास सम्झाउँदै उनले अहिलेको परिस्थितिमा पनि मिलेर अगाडि बढ्न सकिने उनले बताए । 

अध्यक्ष दाहालले वर्तमान सरकार संविधान संशोधन गर्नेको उद्देश्यका साथ बनेको भने पनि त्यस्तो नभएको उल्लेख गर्दै आफू त्यसका निम्ति तयार भएको बताए । अघिल्ला दुई संविधान संशोधनमा आफैँ प्रस्तावक रहेको इतिहास पनि रहेको भन्दै सम्पादकहरूको ध्यान केन्द्रित गराए । आफूले संविधान संशोधनका निम्ति पहल नगरेको भए मधेसी दललाई राजनीतिमा सहभागी गराउन सम्भव नभएको उनले बताए । 

संकटका कारक

बाढी पहिरोका कारण मुलुक संकटमा परेका बेला आन्तरिक राजनीतिबारे आफू जान नचाहेको दाहालले अभिव्यक्ति दिए । तर, पहिलो (नेपाली कांग्रेस) र दोस्रो (नेकपा एमाले) दल मिलेर सरकार बनाउनु नै संकटको चुरो रहेको दाहालले जिकिर थियो । 

संविधान संशोधनलाई उद्देश्य बनाएर अहिले दुई दलले सरकार बनाएको प्रसङ्ग उल्लेख गर्दै आफू प्रधानमन्त्री रहेका बेला पनि यस विषयमा कुराकानी गर्न मिल्थ्यो भन्ने दाहालको धारणा रह्यो । ‘म सरकारमै हुँदा संविधान संशोधनबारे बताउन मिल्दैनथ्यो र ?’ उनको प्रश्न थियो, ‘यो विषय लुकाउनु पर्ने, लुक्नु पर्ने हुँदैनथ्यो । कुरो त छ्याङ्गै छ नि । संकट छ भन्ने यसैले देखाएको छ ।’

सांसदका दुई ठुला दल मिलेर सरकार नबन्ने उनले बताए । ‘संसदीय लोकतन्त्रमा सरकार यसरी बन्दैन,’ उनले भने, ‘यति धेरै ढाँट छलबाट सरकार बन्दैन, अहिलेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन, यो बहाना मात्र हो ।’

आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध सक्रिय हुन थालेपछि रोक्न नयाँ सरकारको पहल भएको आरोप पनि उनले दोहो¥याए । 

संविधानप्रति एमालेको नकारात्मक रवैया रहेको दाहालले बताए । ‘एमाले नेतृत्वकै साथीहरूलाई यो संविधान घाँडो भएको छ । सुरुदेखि नै उहाँहरूलाई यो मन परेको छैन । यसमा सुरु देखि नै माओवादीको अनुहार उहाँहरूले देख्नु भएको छ ।’

एमालेको चाहना संविधान संविधान संशोधनभन्दा पनि खारेजी रहेको उनले बताए । हिजो दुई पटक प्रतिनिधिसभा विघटन पनि संसद् विघटनभन्दा पनि संविधान विघटनको उद्देश्य रहेको दाहालले उल्लेख गरे । 

‘उहाँहरूलाई यो संविधान मन परेको छैन । समावेशी पनि मन परेको छैन । सङ्घीयता मन पर्ने कुरै भएन,’ दाहालले भने । 

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनआन्दोलन २०६२/६३ मा दिएको अभिव्यक्ति उल्लेख गर्दै भने, ‘ठेल गाडा सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको भित्रभित्रै मन परेको छैन,’ उनले भने, ‘उहाँहरूको टार्जेट (लक्ष्य) चाहिँ अर्कै हो ।’ 

संविधान संशोधनलाई बहाना बनाएर अन्य काम गर्न खोजे त्यसले झनै संकट गहिरिने दाहालले बताए । अहिलेसम्म प्रदेशलाई अधिकार नदिइएको, निजामती र प्रहरी ऐन नबनाइएको पक्षलाई समेत उनले सङ्घीयता कार्यान्वयन गर्ने इच्छा वर्तमान सरकारमा नरहेको तर्फ उनले संकेत गरे । 

अहिले संविधान संशोधनभन्दा पनि यसको इमानदारीपूर्ण कार्यान्वयन आवश्यक रहेको उनले बताए । अहिलेको संविधान वृहत् शान्ति सम्झौताकै अंग रहेको उल्लेख गर्दै यसलाई बिर्सन खोजे संकट अवश्यम्भावी रहेको उनले बताए । 

प्रकाशित: २३ आश्विन २०८१ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App