राजनीति

नेकपा एसमा असन्तुष्टिको ज्ञापनपत्र,नेताहरूको पार्टी छाड्ने चेतावनी कि घुर्की ?

नेकपा एस का अध्यक्ष माधवकुमार नेपालको साथ खोज्दै पार्टीभित्र आधार बनाएका नेताहरूले नै अहिले उनैलाई घुर्काइरहेका छन् । एमाले विभाजनपूर्व नेपालको साथमा लागेर पार्टीभित्र आफ्नो आधार तयार गरेका कतिपय नेताले बीचमै उनलाई छाडेर हिँडेका थिए। अहिले फेरि नेपालको साथमा रहेका केही नेताले पार्टी छाड्ने भन्दै घुर्काइरहेका छन्। 

ती नेताहरूले सोमबार मात्रै अध्यक्ष नेपाललाई भेटेर पार्टी छाड्ने घुर्की लगाएका छन्।असारमा आयोजित महाधिवेशन हलमा अध्यक्ष नेपालले गरेको वाचाबन्धनविपरीत पदाधिकारी र पोलिटब्युरो सदस्यको चुनावमा पार्टीमा विभाजनको रेखा कोरेको भन्दै ती नेताहरूले कार्यशैलीमा तत्काल सुधार नल्याए अलग हुने चेतावनी दिएका छन्। 

पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा पराजित भएका नेताहरूले अध्यक्ष नेपाललाई भेटेर तत्काल गल्ती नसच्याए पार्टी एकता कायम रहन नसक्ने चेतावनी दिएको स्रोतको दाबी छ। डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महत, सागर नेपाललगायत सयभन्दा बढी नेताले पार्टी अध्यक्ष नेपाल, उपाध्यक्षहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधान गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन तथा पदाधिकारी र पोलिटब्युरो कमिटी खारेज गर्न माग गरेका हुन्। 

विगतमा एमालेमा रहँदा यिनै नेताहरूले नेपाललाई पार्टी विभाजनमा उक्साएका थिए ।  

एमालेबाट विभाजित भएर बनेको नेकपा एसको असारमा भएको पहिलो महाधिवेशनबाट उनीहरूले पदाधिकारीबाट हात धुनुपरेको थियो। तिनै नेताहरूले अहिले पार्टीको सबै गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाललाई पार्टी छाड्नेसम्म धम्की दिएका हुन्। 

पार्टीका गतिविधिप्रति उनीहरूले लिखित रूपमै असन्तुष्टि प्रकट गरेका छन्। ‘महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष भएका माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिका अगाडि गरेको वाचाबन्धन उल्लंघन गरिरहनुभएको छ’,शीर्ष नेतालाई बुझाएको ज्ञापनपत्रमा उनीहरूले भनेका छन्। उनीहरूले माग सम्बोधन नभए असन्तुष्ट सबैले पार्टी छाड्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।  

ज्ञापनपत्रमा नेतृत्वले पार्टी विभाजनअघिको अवस्थाको हेक्कासमेत राख्न नसकेको आरोप लगाइएको छ। ‘पुरानो पार्टीमा जस्तै आफ्नो अनुकूलको नेतृत्व निर्माण गर्ने मनसाय लिएको देखियो, प्रदेश इन्चार्ज र अध्यक्षलाई भूगोलबाट जिल्लाको संख्याभन्दा कम संख्याको कोटा दिइयो र समावेशी कोटा नेतृत्वले आफ्नै तजबिजी अधिकारमा राख्यो,’ ज्ञापनपत्रमा लेखिएको छ।  

पार्टीभित्रको असन्तुष्टिका विषयमा नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले साथीहरूको गुनासो लिखित रूपमा आएको भन्ने सुनेको तर हेर्न नभ्याएको प्रतिक्रिया दिए। ‘केही नेताले पार्टी अध्यक्ष माधव नेपाललाई ज्ञापनपत्र बुझाउनुभएको छ भन्ने सुनेको छु तर त्यसमा के–के लेख्नुभएको छ भनेर हेर्न पाएको छैन। साथीहरूले गुनासा सम्बधोन गर्नुपर्छ भन्नुभएको होला। पार्टीभित्र उन्पन्न समस्या समाधान गर्नुपर्छ, भइहाल्छ’, खतिवडाले भने । 

डा. पौडलसहितको खेमाले असारमा महाधिवेशन हलबाट अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत अनुमोदन भएको विषयमा असन्तुष्टि जनाएका छन्। केन्द्रीय सदस्यमा २०६ जनालाई गरिएको मनोनयनका विषयमा पनि उनीहरूको असन्तुष्टि छ। 

केन्द्रीय सदस्यमा २०६ जनाको मनोनयनप्रति पौडेललगायते पनि सहमति थियो। त्यतिबेला २०६ जनाको नाम प्रस्ताव गर्न नेपाल, खनाल र भुसाललाई हलले सहमति प्रदान गरेको थियो । ‘२९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने महाधिवेशन हलको म्यान्डेटविपरीत नेताहरूको स्वार्थ पूरा गर्न ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाइयो। लामो समय योगदान गरेका र योग्यभन्दा पनि शीर्ष नेतानिकटलाई केन्द्रीय सदस्य बनाइएको छ’, ज्ञापनपत्र बुझाउने मध्येका एक नेताले भने। ‘यो म्यान्डेट कसले कसलाई दियो? मनोनीत कमिटीले कसरी निर्वाचित पदाधिकारी निर्माण गर्न सक्छ?यस्ता तमाम जग हँसाउने क्रियाकलापले पार्टीमा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको हो। यसको मुख्य कारक शीर्ष नेतृत्व महाधिवेशनको मञ्चमा गरेको वाचाबन्धनको बर्खिलाप जानु रहेको देखिन्छ’, अध्यक्ष नेपाललाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ।

असन्तुष्ट नेताहरूले महाधिवेशनको विधि र प्रक्रियामा समेत प्रश्न उठाएका छन्। ‘महाधिवेशनको समग्र प्रक्रियामा विधि–पद्धतिको गम्भीर उल्लंघन भएको छ। केन्द्रीय परिषद् बैठकबाट र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत मनपरी गरिएको छ’, ज्ञापनपत्रमा लेखिएको छ। 

महाधिवेशन प्रतिनिधिसँग राम्रो सम्बन्ध नभएको र पार्टीभित्र नेताहरूको वरिपरि बस्न चाहने समूहले नै घुक्र्याउन थालेको पार्टीका एक नेताले बताए। ‘विगतमा माधव नेपाललाई देखाएर हालिमुहाली गर्ने समूहले अहिले आफ्नो स्थान असुरक्षित भएपछि बखेडा निकाल्न थालेको हो, यसले खास फरक पर्दैन’, ती नेताले भने। 

असन्तुष्ट पक्षले नेतृत्वले महाधिवेशनको कार्यादेशविपरीत गरेका सबै कामकारबाही खारेज गर्नुपर्ने, १०औं महाधिवेशनसम्मका समग्र प्रक्रियाका साथै पार्टीभित्र उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्नुपर्ने तथा आन्तरिक एकता जोगाएर पार्टी विकास र विस्तार गर्ने बाटो पहिल्याउन तत्काल केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग गरेको छ।

 

प्रकाशित: २३ आश्विन २०८१ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App