राजनीति

मेलम्चीको पानी एक दिन बिराएर वितरण गर्न मन्त्री यादवको निर्देशन

खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा मेलम्चीको पानी एक दिन बिराएर वितरण गर्न निर्देशन दिएका छन्। मंगलबार मेलम्चीबाट काठमाडौं पठाइएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट पानी वितरणको सुरुआत गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

मन्त्री यादवले काठमाडौं उपत्यकावासीको मागलाई मध्यनजर गर्दै खानेपानीको आपूर्ति बढाउन निर्देशन दिएको बताए। केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने योजना बनाएको भए पनि अहिले उपत्यकामा जनसङ्ख्याको चाप कम रहेकाले एक दिन बिराएरै वितरण गर्न उनले आग्रह गरे।

वर्षातका कारण केही समय रोकिएको मेलम्चीको पानी वितरण फेरि सुरु भएको भन्दै मन्त्री यादवले काठमाडौं उपत्यकाका घरघरमा मेलम्चीको पानी आइपुग्न थालेको जानकारी दिए। "आजबाट उपत्यकावासीले मेलम्चीको पानी घरघरमै पाउनेछन्," उनले भने।

साथै, मेलम्चीबाट अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने जनाउँदै मन्त्रीले पानी ल्याउन धेरै चुनौती र कठिनाइको सामना गर्नुपरेको उनको भनाइ थियो।

हेलम्बुका स्थानीयहरुको माग सम्बोधन गर्न दसैंपछि सिंहदरबारमा छलफल गरिने मन्त्री यादवले आश्वासन दिए। उनले भने, "हिमालको पानी मेलम्चीको ट्रनेलबाट काठमाडौंसम्म ल्याउन अर्बौँ लगानी भएको थियो, तर २०७८ को बाढी र पहिरोले क्षति पुर्‍यायो। यसले गर्दा वितरणमा अवरोध भएको थियो। अब वर्षातको समस्या नआउन्जेल निरन्तर पानी आपूर्ति हुनेछ।"

मन्त्री यादवले स्थानीय जनताको जायज माग दसैंपछि छलफलबाट सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे। तीन महिनाभित्र मागहरू पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिइसकेका स्थानीयहरुलाई सरकार वार्ता गर्न तयार रहेको बताउँदै उनले आन्दोलनको स्थिति आउन नदिने प्रयास गरिने जनाए।

प्रकाशित: २२ आश्विन २०८१ १८:२८ मंगलबार