राजनीति

अब होला त कांग्रेस भ्रातृ संगठनहरूको निर्वाचन?

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू लामो समयदेखि तदर्थवादमा चल्दै आएका छन्।

झन्डै एक दशकदेखि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघसहितका संगठनको आवधिक अधिवेशन हुन सकेको छैन। विधानको व्यवस्थाअनुसार महाधिवेशन गराउन असफल भ्रातृ संगठनलाई महाधिवेशन गर्न दबाब दिनुको साटो पार्टीले नै तदर्थ समिति गठन गर्ने परम्परा कांग्रेसमा हाबी हुँदै आएको छ। जसले गर्दा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन प्रभावहीन बन्न पुगेका छन्।

भ्रातृ संगठनहरूलाई चलायमान बनाउन नसकेको भन्दै कांग्रेस नेतृत्वको आलोचना भइरहेका बेला कांग्रेसले पार्टीका तीन सहमहामन्त्रीको संयोजकत्वमा तीनवटा भ्रातृ संगठनको अधिवेशन गराउन निर्देशक समिति गठन गरिएको छ। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र महिला संघको महाधिवेशन गराउन गठित निर्देशक समितिहरूमा पार्टीका दुईदुईजना केन्द्रीय सदस्य पनि राखिएको छ।

नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा राजिव ढुंगाना र प्रतिमा गौतम, नेपाल तरुण दलको महाधिवेशन गराउन सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को संयोजकत्वमा सरिता प्रसाईं र जितजंग बस्नेत र महिला संघको महाधिवेशन गराउन सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य रहेको निर्देशक समिति गठन गरिएको हो।

कांग्रेसका १३ वटा भ्रातृ संगठनमध्ये अधिक तदर्थवादमा चल्दै आएका छन्। २०७८ फागुन ३ मा कार्यकाल गुजारेका भ्रातृ संगठनहरूको केन्द्रीय समिति विघटन गर्दै माउ पार्टी कांग्रेसले तदर्थ समिति गठन गरेको थियो। यसअघि गत पुसमा कांग्रेसले २०८१ असार मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नेगरी भ्रातृ संगठनहरूको अवधि थपेको थियो। थपिएको समयभित्र महाधिवेशन हुन नसकेपछि कांग्रेसले नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको महाधिवेशन गराउन पार्टी सहमहामन्त्री संयोजकत्वमा निर्देशक समिति बनाएको हो।

कांग्रेसको नर्सरी भनिने नेपाल विद्यार्थी संघको २०७३ सालपछि महाधिवेशन हुन सकेको छैन। महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरको राजीनामा पछि २०७६ माघ १६ मा कांग्रेसले राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो। त्यसपछि २०७८ चैत ९ मा दुजाङ शेर्पाको अध्यक्षतामा नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति बनाइएको हो। दुजाङ नेतृत्वको तदर्थ समिति ७५२ सदस्यीय छ।

त्यस्तै तरुण दलको २०७३ सालपछि नियमित महाधिवेशन हुन सकेको छैन। जितजंग बस्नेत पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दलको अध्यक्ष रिक्त भयो। २०७८ चैत ९ मा विद्वान गुरुङलाई तरुण दल तदर्थ समितिको अध्यक्ष बनाइएको हो। नेपाल महिला संघको हालत पनि उस्तै छ। २०७३ सालपछि महिला संघको महाधिवेशन पनि हुन सकेको छैन।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंंघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, आदिवासी जनजाति महासंघसहितका अन्य भ्रातृ संगठनको पनि दशकदेखि महाधिवेशन हुन सकेको छैन।

प्रकाशित: २१ आश्विन २०८१ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App