राजनीति

एमालेमा पाँचबुँदे आचारसंहिता: नेता-कार्यकर्तालाई अनुशासनमा राख्ने ‘डन्डा’

एमालेले आफ्ना नेता–कार्यकर्तालाई अनुशासनमा राख्न पाँच बुँदे आचारसंहिता जारी गरेको छ। पार्टीको हरेक तहबाट मिसन २०८४ को अभियान थालिएका बेला केन्द्रीय नेताहरू नै विवादमा तानिँदा पार्टीलाई अप्ठेरो परेको भन्दै पाँच बुँदे आचारसंहिता जारी गरिएको हो।

केन्द्रीय नेताहरू नै विवादमा आउन थालेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ १८–१९ गते भएको पोलिटब्युरो बैठकमा कि मनोरञ्जन कि पार्टी रोज्न चेतावनीसमेत दिएका थिए। सोही बैठकबाट आचारसंहिता जारी भएको हो।

एमाले केन्द्रीय तहका केही नेताको मनोरजनात्मक, उत्तेजक र सामाजिक प्रतिष्ठामा आँच आउने खालका तस्बिर र भिडियो सार्वजनिक हुन थालेपछि पार्टीभित्र अनुशासनका विषयमा व्यापक छलफल भएको थियो।

पार्टीलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्दै सामाजिक प्रतिष्ठालाई आँच पुग्ने कुनै पनि प्रकारका गतिविधि पार्टीका नेता–कार्यकर्ताबाट हुनु हुँदैन भन्ने सन्देश दिन आचारसंहिता जारी भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। ‘पार्टीको पद्धति हुन्छ। यो सुव्यवस्थित ढंगले चल्छ। यसका नैतिक मूल्य र मान्यता हुन्छन्। पार्टीको सामाजिक प्रतिष्ठा हुन्छ। यी सबै विषयलाई उल्लंघन गर्ने छुट पार्टीका नेता–कार्यकर्तालाई छैन,’ उनले भने।

पछिल्ला दुई वर्षयता एमालेका प्रतिभाशाली नेताहरू नै मनोरञ्जनमा लागेका तस्बिर र भिडियो क्लिपहरू बाहिर आएका छन्। त्यसले गर्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १८–१९ बसेको पोलिटब्युरो बैठकमा नेता–कार्यकर्तालाई पार्टी वा मनोरञ्जनमध्ये एउटा रोज्न निर्देशन दिएका थिए।

आफूलाई पार्टी अध्यक्ष ओलीनिकट भन्न रुचाउने नेताहरूको ‘भल्गर’ भिडियो र तस्बिरहरू तथा अश्लील शब्दसमेत समेटिएका आवाज बाहिर आएपछि अध्यक्ष ओलीले नजिक छु भन्ने बहानामा जे पायो त्यही गर्ने छुट नभएको भन्दै पार्टीभित्र कुनै न कुनै रूपको अनुशासन कायम रहने बताएका थिए।

पोलिटब्युरो बैठकमा नै नेताहरूले केही नेताको सांस्कृतिक र आर्थिक विचलनका कारण पार्टी र कार्यकर्तालाई अप्ठेरो अवस्था आएको धारणा राखेका थिए। त्यस्ता नेताहरूबारे प्रस्ट धारणा बन्नुपर्ने, कारबाही गर्ने कि सचेत गराउने भनेर समयमा नै टुंगो लाग्नुपर्ने आवाज बैठकमा उठेको थियो।

पार्टी नेताहरूका सांस्कृतिक विचलन झल्किने एकपछि अर्को अडियो–भिडियो बाहिरिन थालेपछि कार्यकर्ताहरूले समेत प्रश्न उठाउन थालेका छन्। कतिपय केन्द्रीय सदस्यहरू नै विवादमा तानिएका छन्। केन्द्रदेखि प्रदेश र स्थानीय तहका नेताहरूमा पनि त्यस्तो विचलन देखिन थालेपछि नियन्त्रणका लागि एमालेले पाँचबुँदे आचारसहिंता लागु गरेको हो।

सो आचारसंहितामा आर्थिक अनियमितता, भ्रष्टाचार र नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्यतथ्यबारे पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्ने उल्लेख छ।

‘पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीका तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रकृति हेरी पार्टीका तर्फबाट तत्काल अध्ययन गरी सोसम्बन्धी धारणा सार्वजनिक गर्ने,’ आचारसंहितामा भनिएको छ, ‘राजनीतिक रूपमा प्रतिशोध साँध्न लगाइने झुटा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्ने। मुद्दाको प्रकृति हेरी मुद्दा चलाइएकाहरूले कानुनबमोजिमको छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने। फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने र दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने।’

एमालेले पाँचबुँदे आचारसहिंता मात्र होइन, गत पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा पनि आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किंदै गएको उल्लेख गरेका छन्।

‘आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृतिले नेता–कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ। हामीले आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूका सन्दर्भमा अनावश्यक उदारता या उदासीनता देखाउँदा र यसलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ।’

२०७८ सालमा एमालेका तत्कालीन सांसद तथा पोलिटब्युरो सदस्य मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका थिए। बानियाँविरुद्ध एक महिलाले बलात्कारको आरोपसहित बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।

बानियाँ ५ लाख रूपैयाँ धरौटीमा छुटेका छन्। तर उनको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ। तर उनी पार्टी नेताकै रूपमा एमालेको मुगु जिल्ला इन्चार्ज थिए। उनी लोकप्रिय नेतामा पर्थे।

एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतविरुद्ध संगठनकी पूर्वकेन्द्रीय सदस्य शोभा पाठकले बलात्कार भ्रूण हत्याको अभियोगमा जाहेरी दिएकी थिइन्। तर प्रमाण पु¥याउन नसकेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेन। सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै नेता बस्नेतले साइबर ब्युरोमा उजुरी दिएपछि शोभा पक्राउ परेकी थिइन्। अहिले उनी थुनामुक्त भइसकेकी छन्। यसले बस्नेतको उदाउँदो छविमा असर गरेको छ भने उनले राजनीतिक रूपमा प्रतिरक्षामा लाग्नुपरेको छ।

एमालेका अर्का केन्द्रीय सदस्य ऐन महर पनि अनैतिक सम्बन्धको अडियो संवाद बाहिरिएपछि विवादमा परेका छन्। एमालेको मध्यपहाडी संकल्प यात्रा चलिरहेको बेला उक्त काण्डको अडियो बाहिर आएको थियो। त्यस्तै एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको पहिले मनोरञ्जनात्म टिकटक भिडियो सार्वजनिक भएको थियो, पछि यौन हिंसाको उजुरी पार्टीमा आयो। शाहले आफूलाई पटकपटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले अध्यक्ष ओलीलाई नै सम्बोधन गरेर पार्टी कार्यालयमा उजुरी दिएकी थिइन्।

 एमालेका तत्कालीन जुम्ला जिल्ला उपाध्यक्ष सुरत शाहीले भतिजी नाता पर्ने १७ वर्षीया बालिकालाई बारम्बार यौन प्रस्ताव राखेको अडियो बहिरिएको थियो। अडियो सार्वजनिक भएपछि उनी पाँच महिना फरार भए। पछि प्रहरीले पक्राउ गरेको थियो। अदालतले उनलाई धरौटीमा छाडेको छ। उनको मुद्दा अहिले विचाराधीन छ।

एमालेले विगतमा पनि यस्ता गतिविधि रोक्न आचारसंहिता जारी गर्दै आएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाले पनि २०७६ माघमा पार्टी पंक्तिका लागि ११ बुँदे आचारसंहिता जारी गरेको थियो। त्यसको ठिक चार महिनाअघि काठमाडौं आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले तत्कालीन नेकपाका नेता र कार्यकर्ताहरूलाई पार्टी अनुशासनबारे प्रशिक्षण दिएका थिए।

प्रकाशित: २१ आश्विन २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App