राजनीति

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा वार्ता गरिरहेको बताएका छन्।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौतासमेत ठूलो उपलब्धि भएको बताएका हुन्। 

मन्त्री खड्काले भने, “अन्य छिमेकी राष्ट्रहरूले आफ्नो विद्युत उत्पादन गर्दा पनि नेपालबाट किन्ने गर्छन्, त्यसैले चीनसँग पनि यही अनुरूप आग्रह गर्नुपर्छ।” उनले चीनले विद्युत किन्ने विषयमा आशावादी रहेको जनाए।

आर्थिक विषयमा जोड दिँदै मन्त्री खड्काले जनताको जीवनस्तर उकास्नका लागि ध्यान केन्द्रित रहेको जानकारी दिए। उनले निजी क्षेत्रको जलविद्युतमा लगानीलाई राज्यको लगानी मान्दै भने, “निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु हुँदैन। जलविद्युतमा गरेका लगानी २५/३५ वर्षपछि मुलुकको हुनेछ।”

उनले थपे, “६४ खर्ब २८ हजार मेगावाट विद्युत उत्पादनका लागि लगानी गर्दैछौँ। यो पूर्णरूपमा नेपाल सरकारको हुनेछ। अहिले हामीलाई १० खर्बको चालु खर्च र ५/७ खर्ब जुटाउन मुश्किल भइरहेको छ।”

मन्त्री खड्काले बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएकोमा जोड दिँदै भने, “हामीले चीनसँग पनि कुरा गरिरहेका छौँ। सबै छिमेकीहरूले किन्नेछन्। उनीहरू आफैंले उत्पादन गरे तापनि किन किन्नेछन्।”

उनले आर्थिक दृष्टिले जनताको जीवनस्तर उकास्नको लागि तल्लो तहका व्यक्तिहरूसम्म बुझाउने जिम्मेवारी पनि सरकारको भएको बताएका छन्। उनले जलविद्युत क्षेत्रको मोडालिटीलाई तल्लो तहका व्यक्तिहरूसम्म पहुँचमा ल्याउनुपर्नेमा जोड दिएका छन्। “पैसा नहुनेहरूले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनु पर्नेछ,” मन्त्री खड्काले निष्कर्ष निकाले।

प्रकाशित: २० आश्विन २०८१ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App