राजनीति

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन्।

मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे। उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताए।

उनले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताए। सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताए। यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको उनले बताए।

उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताए। त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि उनले बताए। रात्रीकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताए। यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको उनले बताए। 

प्रकाशित: २० आश्विन २०८१ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App