राजनीति

भूकम्पले भत्काएका विद्यालय भवन र स्वास्थ्य चौकी बनाउन ५० करोड

कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गतेको भूकम्पले क्षति पुर्‍याएका विद्यालय र स्वास्थ्य संस्थाको भवन निर्माणका लागि ५० करोड रुपैयाँ छुट्याएको छ।

प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा भूकम्पले भत्किएका विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माणका लागि उक्त रकम खर्चिने बताएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले नियमित बजेटका अलवा स्वास्थ्य संस्था र विद्यालयका भवन बनाउनका लागि ५० करोड थप बजेट तीन जिल्लामा पठाइएको जानकारी दिए।

‘नियमित बजेटका अलवा भूकम्पले भत्काएका विद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि थप बजेट पठाएका हौं,’ उनले भने, ‘विद्यालय र स्वास्थ्य संस्था छनोटका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने गरेर कार्यविधि तय गरेका छौं।’

प्रदेश सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय नहुँदासम्म आन्तरिक तयारीमा नलाग्ने जनाएको छ। मुख्यमन्त्री कँडेलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश नभएकाले हतार गर्न नहुने बताए।

‘आयोजक (केन्द्र) ले मिति तोकेपछि आन्तरिक तयारीमा हामी लाग्छौं,’ उनले भने, ‘अहिलेनै हतार गर्ने पक्षमा प्रदेश सरकार छैन।’ मुख्यमन्त्री कँडेलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीको इज्जत र प्रतिष्ठासँग जोडिएको उल्लेख गर्दै खेल हुने जिल्लाहरूमा पूर्वाधार निर्माण गरिने जानकारी दिए।

‘यसका लागि कुन–कुन जिल्लामा कुन–कुन खेलहरु सञ्चालन गर्ने हो कार्ययोजना ल्याउन खेलकुद विकास परिषद्लाई भनेको छु,’ उनले भने, ‘सोही आधारमा आवश्यक बजेट पठाएर खेल पूर्वाधार निर्माणमा लाग्छौं।’ उनले कुनै व्यक्ति विशेषको आतुरताले प्रतियोगिता हुन नसक्ने बताए। १० औं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गर्ने निर्णय भएपनि अहिलेसम्म खेलकुद प्रतियोगिता आयोजना गर्ने/नगर्ने टुंगो लागेको छैन।

प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्नका लागि आवश्यक सल्लाह, सुझाव दिनका लागि डा. भगवान् कोइरालाको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ।

समितिमा डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी छन्। समितिको प्रतिवेदनका आधारमा प्रदेश अस्पताल र समग्र कर्णालीको स्वास्थ्यलाई कुन रुपमा अघि बढाउने भन्ने निर्ण गरिने मुख्यमन्त्री कँडेलले जानकारी दिए।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले चाहेर मात्रै सुर्खेत विमानस्थल विस्तार संभव नभएको बताए। उनले संघीय सरकारले पहल गरेमा मात्रै प्रदेश सरकारले आफ्नो हिस्साको काम सम्पन्न गर्ने बताए।

‘हालको विमानस्थल विस्तारको विषय संघीय सरकारले पहल गर्नुपर्छ, त्यसमा प्रदेश सरकार भाग्दैन्,’ उनले भने, ‘प्रधानमन्त्री र विभागीय मन्त्रीसँग सुर्खेत विमानस्थलको स्तरोन्नति नभएर विस्तारका लागि पहल भइरहेको छ।’

मुख्यमन्त्री कँडेलले सरकार र सत्ता साझेदार दलहरु बदलिएपनि बजेट तथा योजनाहरु भने नबदलिएको बताए। उनले प्रदेश सरकार स्थापनायता बजेट खर्चगर्ने निकायहरु स्थापना भएपनि राजस्व संकलनको कुनै निकाय नभएको जनाए। उनले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजश्व शाखा स्थापना गर्न लागिएको बताए।

मुख्यमन्त्री कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका चार जनाको तस्बिरहरु सबै मन्त्रालय र प्रदेश मातहतका सबै कार्यालय र निकायहरुमा राख्ने निर्णय गर्नुका साथै परिवारका एक जनालाई रोजगारी दिने निर्णय भएको पनि बताए।

‘कर्णाली प्रदेश चार जना शहिदहरुको बलिदानीबाट प्राप्त भएको हो,’ मुख्यमन्त्री कँडेलले भने, ‘शहिदहरुको सम्मानका लागि सबै मन्त्रालय र मातहतका कार्यालयहरुमा शहिदहरुका तस्बिर राख्नुका साथै परिवारका एक जनालाई रोजगारी दिए निर्णय गरेका छौं।’

प्रकाशित: १८ आश्विन २०८१ १६:२४ शुक्रबार