राजनीति

रविको उहीँ रटानः छानबिन समितिले मेरो संलग्नता भेटेन, जेलै जानुपरे पनि तयार छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नभेटेको पुरानै रटान दोहोर्‍याएका छन्। यता छानबिन समितिको प्रतिवेदनमा कारबाही सिफारिसमा परेका सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर उही कुरा दोहोर्‍याएका हुन्।

‘राज्यका सबै निकाय प्रयोग गरेर बनाएको संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा मेरो कहिँ–कतै संलग्नता देखिएन भनेर भनेको होइन र ? त्यसको अपव्याख्या त जे गरे पनि भयो!,’ सभापति लामिछानले भने, ‘सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रवि लामिछानेलाई कसरी फसाउने भन्ने नियतमा बनाइएको समितिले संलग्नता भेटेन त म के गरौं ?’

आफूले कुनै पनि सहकारीको पैसा अपचलन नगरेको पनि उनले दाबी गरे। उनले भने, ‘मैले कसैलाई ठगेको छैन। बरु कयौं ठगलाई जेल कोचेर सञ्चारकर्मबाट राजनीतिमा आएको हुँ।’ अहिले पनि प्रतिवेदनको कुन पाना पल्टाएर, कुन वकील, कुन न्यायाधीशसँग वा कुन पार्टीको को नेतासँग कुन ठाउँ/क्षेत्रमा बहस गर्नुपर्ने हो तयार रहेको उनले बताए।

कुनै विषयमा अति राजनीतिकरण गर्दा त्यसले पीडितको घाउमा मल्हम लगाउने नभई नूनचूक छर्ने काम गर्ने सभापति लामिछानेले दाबी गरे । ‘दुई खर्ब ७५ अर्ब रकम अपचलन भएको हिसाब आउँदा–आउँदै राजनीतिक स्वार्थबस् एउटा व्यक्ति (म) मा केन्द्रित गरिँदा सहकारी पीडितप्रति अन्याय भइरहेको छ,’ उनले भने।

कम्पनीमा आएको पैसा खर्च गरेको हकमा जिम्मेवारी लिनुपर्छ भने आफू तयार नै रहेको सभापति लामिछानेले बताए। उनले भने, ‘त्यो जिम्मेवारीबाट म बिमुख भएको छैन। तर, गलत व्याख्या गरेर, राज्य शक्तिको दुरुपयोग गरेर यता फसाउन सकिन्छ कि उता तान्न सकिन्छ कि भनेर षड्यन्त्र गर्नु पर्दैन। दुई वर्ष खोज्दा नपाएको प्रमाण अब कति खोज्नुहुन्छ, खोज्नुस्।’

आफूलाई पक्राउ गर्न लागिएको भनेर प्रतिवादमा उत्रिन आह्वान गरेका लामिछानेले आफू अनुसन्धानमा सघाउन तयार रहेको पनि बताए । ‘मैले कहाँ बयान दिनुपर्छ, दिन्छु। म कहाँ आउनुपर्छ, आउँछु। वा म जेलै जानुपर्छ भने पनि तयार छु,’ उनले भने, ‘पीडितको रकम फिर्ता गराउने वातावरण बनाउन रास्वपा र म लागिरहने छौं।’

प्रकाशित: १८ आश्विन २०८१ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App