राजनीति

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो : मन्त्री डा राणा

फाइल तस्बिर

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन् ।

कतारको दोहामा आयोजित एसिया कोर्पोरेसन डायलग (सिडी)को तेस्रो सम्मेलनलाई विहिबार सम्बोधन गर्दै मन्त्री डा राणाले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू–राजनीतिक अवस्थालगायत कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राखिन ।

उनले भनिन, “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारण विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।”

अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको तथा एसियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको मन्त्री डा राणाको भनाइ थियो । उनले भनिन, “हामी अझै पनि सन् २०३० सम्म विश्वव्यापी दिगो विकासका लक्ष्य पूरा गर्नसक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”  

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिइन । जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भू–परिवेष्टित, साना टापु राष्ट्रलगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशले ध्यान दिनुपर्ने र उनीहरुले यी देशहरुलाई गर्नुपर्ने प्रतिबद्धताबमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताइन । यी समस्याहरु हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यताअनुसार अघि बढ्न एसियाली देशहरुसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उनले बताइन ।

मन्त्री डा राणाले भनिन, “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङ्ख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठयारो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।”

नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहिआएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरु पूरा गर्ने पक्षमा उभिँदै आएको उनले बताइन। भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने मन्त्री डा राणाले बताइन ।

साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा राखिन । उनले भने, “मानव सभ्यतासँगै विकास भएको खेलकुदले नागरिकबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशबीच मित्रताको वातावरणलाई प्रवद्र्धन गर्न सहयोग पु¥याएको छ ।”

खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पु¥याउने मन्त्री डा राणाले बताइन ।

उनले भने, “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सद्भाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्य हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।”

मन्त्री डा राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने तथा खेलाडीलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाइन । त्यसैगरी द्वन्द्व प्रभावित क्षेत्रमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रम आयोजना गर्नुपर्ने मन्त्री डा राणाले सुझाव दिइन ।

प्रकाशित: १७ आश्विन २०८१ २१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App