राजनीति

खुर्कोटको पुल सञ्चालन गर्न सेनाले सहयोग गर्छ: रक्षामन्त्री राई

अविरल वर्षाका कारण क्षतविक्षत भएको बीपी राजमार्ग र खुर्कोटको पुल जतिसक्दो चाँडो निर्माण गर्नेगरी तयारी थालेको रक्षामन्त्री मानवीर राईले बताएका छन्।

उनले रामेछाप, दोलखा, ओखलढुंगा सोलु तथा खोटाङको जनजीवनलाई प्रत्यक्ष प्रभावित पारेको बीपी राजमार्ग र त्यसअन्तर्गत पर्ने खुर्कोटको पुल सञ्चालन गर्ने गरी सरकारले काम सुरु गरिसकेको जानकारी दिए।

बुधबार दिउँसो ओखलढुंगा, सोलु उदयपुरका जनप्रतिनिधि र राजनीतिक दलका नेता/ कार्यकर्ताहरूले बीपी राजमार्ग र खुर्कोटको पुल सञ्चालनका लागि रक्षामन्त्री राईलाई पहल गरिदिन आग्रह गरेका थिए।

रक्षा मन्त्रालय पुगेका जनप्रतिनीधिहरुले ओखलढुङ्गा, सोलु, खोटाङ तथा रामेछाप र दोलखाको जनजीवन प्रभावित भएकाले बाढीका कारण क्षतिग्रस्त भएको बीपी राजमार्गमा खुर्कोटको पुल सञ्चालन ल्याउन माग गरेका थिए।

तीन जिल्लाको नागरिकहरु आवतजावत गर्ने खुर्कोटको पुल बगाएपछि चिन्ता थपिएको छ। खासगरी रामेछाप, सोलुको लिखुपिके वासीहरुलाई प्रत्यक्ष असर परेको छ। पुल चाडै सुचारु भएमा दोलखा, रामेछाप र सोलुका लिखुपिकेवासीलाई सहज हुनेछ।

‘अहिले बाटो सफा गर्ने, मर्मत गर्ने काम सुचारु भइरहेको छ, केही दिनभित्रमा मर्मतको काम सकिने जानकारी पाएको छु। साथै, खुर्कोटको पुल सञ्चालन अध्ययनका लागि नेपाली सेनाले प्राविधिक पठाइसकेकाे छ। साथै, जडानका लागि पनि सेनाले सहयोग गर्छ। अध्ययनका लागि आज नै प्राविधिक सहितको टोली हेलिकोप्टरमा गइसकेको जानकारी पाएको छु’, रक्षामन्त्री राईले भने।  

उनका अनुसार प्राविधिक टोलीले अध्ययन गरिसकेपछि खुर्कोटमा पुल जडानका लागि सेनाले जति सक्दो काम थाल्ने भएको छ। भौतिक मन्त्रालयले बेलिब्रिजको सामाग्री उपलब्ध गराउने र नेपाली सेनाको प्राविधिक टोलीले जडान गर्ने भएकाले चाडै पुल सञ्चालनमा आउने मन्त्री राईले जानकारी दिए।

सडक सञ्चालनलाई सुचारु गराउन माग गर्दै, ओखलढुङ्गाका पूर्व सांसद एवं एमाले केन्द्रीय सदस्य यज्ञराज सुनवार, उदयपुरका सांसद अम्बर रायमाझी, प्रदेश सांसद प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकका मेयर तेजन खनाल, नेपाली कांग्रेसका स्थानीय नेताहरू, सोलु एमालेका स्थानीय नेता रामकाजी श्रेष्ठ लगायतको टोलीले रक्षामन्त्री राइसँग भेट गरेका थिए।

भेटपछि एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले ‘ओखलढुंगा, सोलु, खोटाङ, उदयपुर तथा रामेछापको लाइफलाइन रहेको राजमार्ग र खुर्कोटको पुल यथाशीघ्र सञ्चालन ल्याउन सरकारको ध्यानाकर्षण गराएको बताए।

प्रकाशित: १६ आश्विन २०८१ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App