राजनीति

बाढी पीडितलाई भेट्न बल्खु पुगे माओवादी अध्यक्ष दाहाल

राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको सुरुवात

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बल्खुका बाढी पीडितहरूसँग भेट गरेका छन् । अविरल वर्षाको पछिको बाढीले क्षतिग्रस्त बनेको बल्खु क्षेत्रको स्थलगत अवलोकन गर्दै अध्यक्ष दाहालले स्थानीय पीडितहरुसँग अन्तक्रिया पनि गरेका थिए । 

सो क्रममा पीडितहरुले राहत तथा पुनर्स्थापनाका लागि सरकारले खासै चासो नदिएको गुनासो अध्यक्ष दाहालसँग गरेका थिए । जवाफमा अध्यक्ष दाहालले आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन उनको आग्रह थियो ।  

प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गर्दै अध्यक्ष दाहालले मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको दाबी गरे । यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न दाहालको आग्रह थियो ।  

भेटमा बाढी प्रभावितहरुले अध्यक्ष दाहाललाई ध्यानाकर्षणपत्र समेत बुझाएका थिए । बल्खुको जागरण टोलमा ४१७ घरका चार हजार बढी नागरिक प्रभावित भएका छन् । 

प्रकाशित: १५ आश्विन २०८१ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App